नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको गम्भीर आरोप लगाएका छन्।
शुक्रबार चन्द्रागिरीमा आयोजित पार्टीसम्बद्ध रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै उनले सरकारले स्वार्थ समूहको निर्देशनमा नियुक्त प्रक्रिया अघि बढाइरहेको बताएका हुन्। उनका अनुसार अघिल्लो पटक पनि विभिन्न नियामक निकायमा बिचौलिया र स्वार्थ समूहका प्रतिनिधिहरूलाई राखिएको थियो, र अहिले पनि त्यही प्रवृत्तिमा गभर्नर नियुक्त गर्ने तयारी भइरहेको छ।
पुनका अनुसार राष्ट्र बैंकजस्तो संवेदनशील संस्थाको नेतृत्वका लागि अरबौंको आर्थिक डिल भएको खबर सार्वजनिक सञ्चार माध्यममा आइरहेका छन्, जुन चिन्ताजनक विषय हो। उनले चेतावनी दिँदै भने कि स्वार्थ समूहका प्रतिनिधिहरूलाई जिम्मेवारी दिनु गम्भीर भूल हुने छ।
‘पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी पाउनेहरूले सधैं पदमा टिकिरहने सोच्नु हुँदैन’, भन्दै उनले नियुक्ति प्रक्रिया जनताको आँखामा भइरहेको बताउँदै सबैले नियालेर हेरेको उल्लेख गरे।
उनले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकारलाई असफल करार दिँदै जनअपेक्षा, विकास निर्माण र सुशासनमा सरकार पूर्णरूपमा चुकेको बताए। राज्यका निकायहरूमा कब्जा जमाउने स्वार्थ समूहले नै अहिलेको सत्ता संरचना बनाएको भन्दै उनले जनतामा बढ्दो निराशा र आक्रोशका कारण राजावादी शक्तिहरूले फाइदा उठाउने प्रयास गरिरहेको पनि बताए।
गणतन्त्र स्थापनाका लागि दस वर्षसम्म गरिएको संघर्षको मूल्य सम्झिँदै उनले जनतालाई पुनः रैती बनाउने सोच अस्वीकार्य रहेको स्पष्ट पारे। पुनले भने, ‘नेपाली जनता अब कसैका रैती होइनन्, सार्वभौम नागरिकका रूपमा बाँच्न चाहन्छन्।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस