प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्रीको बेडरुमभित्र बिचौलिया पुगेको अभिव्यक्ति दिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले थापालाई धन्यवाद दिएका हुन् ।
महामन्त्री थापाले गत वैशाख २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुग्ने गरेको दाबी गरेका थिए ।
‘गगन थापाजीलाई धन्यवाद दिन चाहन्छु, ढिलै भए पनि साँचो यथार्थ बोल्नुभयो,’ उनले भने।
पूर्व अर्थमन्त्री पुनले सरकारमाथि नियामक निकायहरूमा स्वार्थ समूहको हस्तक्षेपको गम्भीर आरोप लगाएका छन्। उनले सरकार नियामक निकायमा आफूअनुकूल नियुक्ति गर्दै राष्ट्र बैंकसम्म स्वार्थ समूहको पहुँच पुर्याउन सक्रिय रहेको दाबी गरे। पूर्व अर्थमन्त्री पुनले पछिल्ला गतिविधिहरूले सरकार दलाल र स्वार्थ समूहको नियन्त्रणमा चलेको सन्देश दिएको बताए। उनका अनुसार सरकार गठनकै बेला प्रतिवद्ध गरिएको संविधान संशोधनबारे हालसम्म कुनै प्रयत्न भएको छैन। उनले देशको आर्थिक तथा संस्थागत स्वाधीनता संकटमा परेको भन्दै सरकारलाई चेतावनी दिँदै पारदर्शी र उत्तरदायी शासन प्रणालीमा फर्किन आग्रह गरे।
‘धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता संवेदनशील नियामक संस्थामा स्वार्थ समूहले आफ्ना प्रतिनिधिहरूलाई राख्ने काम भयो,’ उनले भने, ‘अब त राष्ट्र बैंकको गभर्नरमा पनि स्वार्थ समूहको चलखेल भइरहेको छ, दिनको घामझैँ छर्लङ्ग छ।’१० महिनासम्म सरकारले जनताप्रति जवाफदेही हुने कुनै काम गरेन,’ उनले भने, ‘बरु प्रतिपक्षी दल तथा नेताहरूप्रति प्रतिशोधको भावना देखायो र स्वार्थ समूहको संरक्षणमा लागिरह्यो। संविधान संशोधन भन्ने कुरा घोषणामै सीमित भयो, सिन्कोसम्म भाँचिएको छैन,। विचौलिया र स्वार्थ समूहको दबावमा राज्यका प्रमुख नियामक संस्थाहरूलाई चलाउन दिने हो भने देशको वित्तीय संरचनामा गम्भीर क्षति पुग्छ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस