नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेनजी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।
उनका अनुसार, प्रमुख प्रतिपक्षको हैसियतमा बारम्बार बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब दिँदा पनि बेवास्ता गरिएकोले, त्यसको परिणामस्वरूप जेनजी विद्रोहको रूपमै असन्तोष विस्फोट भएको हो। उनले आन्दोलनको चरम बिन्दुमा राष्ट्रपति भवन,सिंहदरबार,संसद् भवन,सर्वोच्च अदालतसहितका सरकारी संरचना खरानी पारिएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी कुशासनका मतियारहरुले लिनुपर्ने बताए।
पुनका अनुसार, जेनजी आन्दोलनको मूल कारण मुलुककै आन्तरिक राजनीतिक,सामाजिक र आर्थिक असन्तुलन रहे पनि भू–राजनीतिक कारकहरूले पनि आन्दोलन चर्कन सहयोग गरे। उनले आन्दोलनको मौका छोपेर अध्यक्ष प्रचण्डलगायत नेताहरूका निवास र पार्टी कार्यालयमा आगजनी र लुटपाट गर्नु र माओवादीलाई अन्य दलसरह देखाउन खोज्नु सुनियोजित प्रयास भएको दाबी गरे। साथै,अमेरिका,चीन,भारत र रूसजस्ता शक्ति राष्ट्रहरूबीचको द्वन्द्वको प्रभाव पनि नेपालमा परेको उनले उल्लेख गरे।
अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए । फरक प्रसंगमा पुनले जेन–जी आन्दोलनले पार्टीहरुका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरुमा आमुल रुपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको औंल्याए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस