नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गरी विद्युत् आपूर्तिमा कुनै समस्या नरहेकाले लोडसेडिङको सम्भावना नरहेको उल्लेख गरेको छ ।
प्राधिकरणले सामाजिक सञ्जालमा देखिएको अतिरञ्जित र भ्रामक सूचनाप्रति खण्डन गर्दै हाल देशभर विद्युत् आपूर्ति नियमित रुपमा भइरहेको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि चौबिसै घण्टा विद्युत् आपूर्ति सुनिश्चित गरिने जानकारी दिएको छ। साथै, औद्योगिक क्षेत्रका ग्राहकलाई विशेष गरी बेलुकाको समयमा विद्युत् खपत कम गरेर सहकार्य गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका अनुसार हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ। यसमध्ये प्राधिकरण स्वामित्वमा रहेका जलविद्युत् आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जा २५ मेगावाट, तापीय ऊर्जा ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट रहेको छ।
हाल आन्तरिक विद्युत् उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकोमा, विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। जसमध्ये १ हजार ५९३ मेगावाट उत्पादन स्वदेशमै सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिँदै आएको छ।
गर्मीको मौसम सुरु भएसँगै भारतमा समेत विद्युत् माग बढेकाले विशेष गरी रातको समयमा आयातमा केही चुनौतीहरू देखिए पनि, घरायसी ग्राहकलाई अविच्छिन्न आपूर्ति गरिएको र उद्योगहरूलाई पनि अधिकांश समयमा विद्युत् आपूर्ति गरिँदै आएको प्राधिकरणले स्पष्ट पारेको छ।
यद्यपि, हालको मौसमका कारण कतिपय स्थानहरूमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले विद्युत् संरचनामा क्षति पुगेको र त्यसका कारण अस्थायी अवरोध हुनसक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। साथै, मर्मत सम्भार, भूमिगत लाइन विस्तार तथा सडक तथा खानेपानी निर्माणका कारण कतैकतै विद्युत् बन्द हुने अवस्था आउन सक्ने प्राधिकरणले चेतावनी दिएको छ।
यस्तो छ विज्ञप्ति
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस