नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्ति हुने खबरले सेयर बजारमा उल्लेखनीय उछाल देखिएको छ। लगानीकर्ताहरू लामो समयदेखि स्थिर, विश्वासिलो र दीर्घकालीन दृष्टिकोण राख्ने नेतृत्वको पर्खाइमा थिए। पौडेलको नाममा आएको सहमति र अन्ततः नियुक्तिले बजारमा आशाको झिल्को देखिएको छ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिको विषयमा निर्णायक भेट तय भएको थियो। तर बैठक नै स्थगित भयो, मन्त्रिपरिषद्को नियमित बैठकसमेत हुन सकेन। यसले बजारमा असमञ्जस्य र अन्योलता ल्याएको थियो। लगानीकर्ता सतर्क थिए, किनकि गभर्नर नियुक्ति केवल आर्थिक हैसियतको कुरा होइन, यो सरकारको नियत र दिशाबोध पनि देखाउने संकेत मानिन्छ।
मंगलबार बालुवाटारमा बसेको छलफलमा गभर्नर नियुक्तिको विषयमा निर्णायक सहमति बनेको खबर आयो। नेपाली कांग्रेसले सिफारिस गरेका तीन नाममध्ये डा. विश्वनाथ पौडेललाई प्राथमिकतामा राखेको पुष्टि भएपछि बजारमा चहलपहल सुरु भयो। प्रधानमन्त्री ओली नेतृत्वको एमाले भने निलम ढुंगनाको पक्षमा उभिएको भएता पनि अन्तंत उनी देउबाको नाममा सहमत भए।
देउवाको स्पष्ट भनाइले – “यदि सर्वोच्च अदालतले बाटो खोलिदियो भने डा. पौडेल नै गभर्नर हुनुपर्छ”
दिउँसो १:३० बजेसम्म नेप्से सुस्त थियो, २,६३६ अंक वरिपरि चलि रहेको थियो। तर गभर्नर सिफारिस समितिको बैठक बस्ने खबरसँगै बजारमा हलचल देखिन थाल्यो। डा. विश्वनाथ पौडेल नै नियुक्त हुने सम्भावना बलियो देखिएपछि बजार एकाएक चुलियो। ३ बजे सम्म नेप्से २,६७७.४५ मा बन्द भयो, जसले १.८६% अर्थात् ४९.०९ अंकको वृद्धि देखायो।
बैंकिङ, फाइनान्स र इन्स्योरेन्सजस्ता सेक्टरहरूमा उल्लेखनीय किनबेच देखियो।
आज साँझ बसेको मन्त्रिपरिषद बैठकले डा. विश्वनाथ पौडेललाई पाँच वर्षका लागि नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गर्यो। सिफारिस समितिमा समेत पहिलो रोजाइमा परेका पौडेलले अन्ततः देशको मौद्रिक नीतिको बागडोर सम्हाल्ने मौका पाएका छन् । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र लगानी समूहहरूमा उत्साह फैलिएको छ। कतिपयले यो नियुक्तिलाई “सेयर बजारमै मात्र होइन, समग्र अर्थतन्त्रका लागि सही दिशा दिने निर्णय” भनेर व्याख्या गरेका छन्।
डा. पौडेलको शैक्षिक यात्रा नेपालमै सीमित छैन। उनले अमेरिकाको विश्वप्रसिद्ध क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लेबाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि (PhD) प्राप्त गरेका छन्। यो विषयमा अध्ययन गर्नुले नेपाली अर्थतन्त्रको ग्रामीण, कृषिआधारित संरचनालाई गहिरो गरी बुझेको संकेत दिन्छ। उनी अहिले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा अध्यापन गरिरहेका छन्, जहाँ उनी भविष्यका नीति निर्माता र उद्यमशील युवाहरूलाई प्रशिक्षण दिइरहेका छन्।
तर डा. पौडेलको परिचय केवल एक शैक्षिक व्यक्तित्वको हैसियतमा सीमित छैन। उनी नीतिगत नेतृत्व, अन्तर्राष्ट्रिय सहकार्य र संस्थागत सुदृढीकरणका क्षेत्रमा पनि व्यापक अनुभव बोकेका छन्। २०७८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए।
उनको अन्तर्राष्ट्रिय अनुभव पनि उत्तिकै प्रभावशाली छ। सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा संलग्न हुँदा उनीले विश्वबजारको प्रवृत्ति, विकासशील राष्ट्रका चुनौती र तिनीहरूको समाधानका उपायहरूलाई नजिकबाट हेर्न पाएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) मा आर्थिक सल्लाहकारको रूपमा काम गर्दा उनले श्रम बजार, रोजगारीका अवसर र सामाजिक सुरक्षाका सवालमा गहिरो अन्तरदृष्टि प्राप्त गरेका छन्।
उनी सानिमा बैंक लिमिटेड तथा सानिमा मिडिल तमोर हाइड्रो प्रोजेक्टमा सञ्चालकका रूपमा संलग्न भइसकेका छन्।
यति मात्र होइन, उनी मिलेनियम च्यालेन्ज नेपाल (MCA-Nepal) मा अर्थशास्त्रीको रूपमा संलग्न हुँदा, अमेरिकी अनुदान सहयोग अन्तर्गतका परियोजनाहरूको प्रभाव मूल्याङ्कन र बजेट व्यवस्थापनमा काम गरेका थिए। यस्तो अनुभवले डा. पौडेललाई बहुपक्षीय सहयोगलाई नेपालको प्राथमिकतासँग कसरी जोड्ने भन्ने दृष्टिकोण दिएको छ।
राष्ट्र बैंकको गभर्नर सिफारिस समिति गठन भएपछि उनी त्यसमा अर्थविद् सदस्यका रूपमा मनोनयन भएका थिए। तर आफू नै गभर्नर पदका लागि सिफारिसमा परेपछि उनले नैतिकताको दृष्टिकोणले समितिबाट राजीनामा दिएका थिए।
यस्ता समग्र पृष्ठभूमिका कारण बजारमा उनको नियुक्तिप्रति भरोसा देखिनु स्वाभाविक हो। नीति, संस्था, अन्तर्राष्ट्रिय सञ्जाल र स्थानीय वास्तविकताको गहिरो बुझाइले उनलाई राष्ट्र बैंकजस्तो संवेदनशील संस्थाको प्रमुख भूमिकाका लागि उपयुक्त बनाएको छ। अब उनको नेतृत्वमा केन्द्रीकृत हुने मौद्रिक नीतिहरू, वित्तीय क्षेत्रको स्थायित्व र नियमनकारी सुधारले कस्तो प्रभाव पार्नेछ भन्नेमा सबैको नजर रहनेछ।
तर जे होस्, जेठ ६, २०८१ – सेयर बजारको लागि ‘खुसीको दिन’ बन्न सफल भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस