संयुक्त अरब इमिरेट्स (UAE) ले मे महिनाको अहिलेसम्मकै उच्च तापक्रम ५१.६ डिग्री सेल्सियस दर्ता गरेको छ। अल ऐनको स्वेहान क्षेत्रमा शनिबार दिउँसो १:४५ बजे यो तापक्रम पुगेको युएईको नेशनल सेन्टर अफ मेट्रोलोजी (NCM) ले पुष्टि गरेको हो।
"आज देशभरको सबैभन्दा उच्च तापक्रम स्वेहान (अल ऐन) मा ५१.६°C दर्ता भएको छ," – NCM, आधिकारिक एक्स (X) पोस्टमार्फत।
शुक्रबार अबुधाबी क्षेत्रमा ५०.४°C पुगेको तापक्रम शनिबार झन् १.२°C ले बढ्दै ५१.६°C मा पुगेको हो। लगातार दुई दिनसम्म लगातार बढेको गर्मीले युएईसहित खाडी क्षेत्रका अन्य देशमा पनि जलवायु परिवर्तनको असर तीव्र हुँदै गएको स्पष्ट देखिएको छ।
युएईमा यसअघि सन् २००९ मा मे महिनामा ५०.२ डिग्री तापक्रम पुगेको रेकर्ड थियो। तर यो नयाँ तापक्रमले त्यो पनि तोडेको छ। यो पछिल्लो तापक्रम जलवायु संकटको प्रत्यक्ष प्रमाणको रूपमा हेरिएको छ।
यति उच्च तापक्रमबीच NCM ले अल ऐन क्षेत्रमा शनिबार साँझ ५ बजेदेखि ८ बजेसम्म सम्भावित वर्षाको चेतावनीसमेत जारी गरेको छ। पूर्वी क्षेत्रमा बन्ने संवहनीय बादल (convective clouds) को असरले वर्षा, तेज हावा र धुलो आउने सम्भावना रहेको जनाएको छ।
सडक चिप्लो हुने र धुलोले दृश्यता कम हुनसक्ने भएकाले चालकहरूलाई सावधानी अपनाउन भनिएको छ।
पछिल्ला तीन दशकमा युएईमा अत्यधिक गर्मीका दिन दोब्बर भएका छन्। जलवायु परिवर्तन विशेषज्ञहरूका अनुसार, यस्ता हीटवेभहरू (Heatwaves) अब अझ धेरै पटक, लामो समयसम्म र अझ तीव्र रूपमा आउनेछन्।
सन् २०२२ मा ग्रीनपीसले गरेको एक अध्ययनअनुसार मध्यपूर्व क्षेत्र विश्वको औसतभन्दा दोब्बर गतिको तापवृद्धिको चपेटामा परेको छ। यस्ता उच्च तापक्रमले पानी र खाद्य सुरक्षालाई गम्भीर जोखिममा पुर्याउने चेतावनी पनि उक्त अध्ययनमा दिइएको छ।
युएईजस्ता मरुभूमीय देशहरू विश्वकै सबैभन्दा तातो क्षेत्रमध्ये पर्छन्। बढ्दो तापक्रम र दोहोरिएका रेकर्डहरूले देखाउँछ – जलवायु परिवर्तन अब केवल भविष्यको संकट होइन, वर्तमानको आपत हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस