नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा सेयर धितो कर्जाको जोखिम भार घटाउनेदेखि लिएर मुद्रास्फीति नियन्त्रण, विदेशी विनिमय सञ्चिति सुधार, र अन्तर्राष्ट्रिय आर्थिक प्रक्षेपणहरूसम्मका विषय समेटिएका छन्।
सेयर धितो कर्जामा लगाइने जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गर्ने निर्णय राष्ट्र बैंकले गरेको छ। यस निर्णयले बैंकहरूको पूँजी व्यवस्थापनमा सहजता ल्याउने र सेयर कर्जामा केही लचिलोपन आउने अपेक्षा गर्न सकिन्छ।
मौद्रिक विस्तारबाट मूल्यमा चाप नपरोस् भन्ने उद्देश्यसहित लिइएको नीतिअनुसार मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित राख्ने लक्ष्य लिइएको थियो। उक्त लक्ष्य अनुरूप नै चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.५७ प्रतिशतमा सीमित रहन सफल भएको राष्ट्र बैंकले जनाएको छ।
चालु खाता तथा शोधनान्तर बचत उच्च रहेको र आयातमा गिरावट देखिएको अवस्थामा विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकले कम्तीमा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम गर्ने नीति लिएकोमा हालको सञ्चिति झण्डै १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ।
समीक्षामा विश्वव्यापी आर्थिक प्रवृत्तिको पनि उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले सन् २०२५ को लागि विश्व आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। सन् २०२४ मा यो वृद्धिदर ३.३ प्रतिशत थियो। पछिल्लो समयमा विकसित मुलुकहरूको संरक्षणवादी व्यापार नीति तथा भन्सार महशुल वृद्धि जस्ता कारणले कोषले यो प्रक्षेपण घटाएको हो।
कोषका अनुसार विकसित अर्थतन्त्रहरू सन् २०२४ मा १.८ प्रतिशतले विस्तार भएका थिए भने सन् २०२५ मा ती १.४ प्रतिशतले मात्र विस्तार हुनेछन्। उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रहरूको वृद्धिदर सन् २०२४ मा ४.३ प्रतिशत रहे पनि सन् २०२५ मा ३.७ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ। त्यस्तै भारतको अर्थतन्त्र सन् २०२४ मा ६.५ प्रतिशतले विस्तार भएकोमा सन् २०२५ मा ६.२ प्रतिशतले मात्र विस्तार हुने र चीनको अर्थतन्त्र ५.० प्रतिशतबाट घटेर ४.० प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस