Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयो - कुलमान घिसिङ

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १५ : ३९ मा प्रकाशित

उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयो - कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरूबाट बक्यौता असुल गर्न गरेको इमान्दार प्रयासकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका छन्।

सर्लाहीको हरिवनमा नागरिक अभिनन्दन मूल समितिले आयोजना गरेको कार्यक्रममा घिसिङलाई नागरिक सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै उनले लामो समयसम्म देशभर रहेको लोडसेडिङ अन्त्य गरी ऊर्जा व्यवस्थापनमा ऐतिहासिक उपलब्धि हासिल गरे पनि सरकारले आफूलाई ‘शून्य नम्बर’ दिएको गुनासो गरे।

उनका अनुसार केही उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् लिँदै आएका थिए, तर बक्यौता तिर्न नचाहेपछि आफूले कानुनी र इमान्दार रूपमा उठाउने प्रयास गर्दा पद गुमाउनुपरेको हो।

घिसिङले जनताले अहिले राजनीतिक विचार होइन, सेवा प्रवाह, सुशासन, विकास र आर्थिक समृद्धिको खोजी गरिरहेको बताए। उनले भने, 'लोडसेडिङको अँध्यारो त हटिसक्यो, तर अझै धेरै क्षेत्रमा उज्यालो पुग्न बाँकी छ। यदि हरेक वर्ष १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकियो भने करिब ७ खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, जुन देशको कुल ग्राहस्थ उत्पादनको करिब २० प्रतिशत हो।'

उनले स्वच्छ जलविद्युत् प्रयोग गरेर पेट्रोल, डिजेल र ग्यासजस्ता प्रदूषित ऊर्जाको विकल्प विकास गर्न सकिने र त्यसले हरित पर्यटन तथा कृषिको विकासमा समेत ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको