पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको सेयर धितो कर्जा तीव्र रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८२ वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जामा कुल १ खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्, जुन गत वर्षको तुलनामा ३५ अर्बले बढी हो।
२०७९ असार मसान्तमा करिब ८० अर्ब रुपैयाँ थियो भने २०८१ असारसम्म यो रकम ९० अर्ब पुगेको थियो। २०८२ वैशाखसम्म मात्र करिब डेढ अर्ब रुपैयाँले बढेको तथ्यांक देखिन्छ। वाणिज्य बैंकहरूले कुल लगानीमा सबैभन्दा बढी हिस्सा लिएर १ खर्ब ३ अर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्। यसमा नबिल बैंक सर्वाधिक अग्रणी रहेको छ, जसले २०८२ वैशाखसम्ममा १४ अर्ब ५९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ। ग्लोबल आइएमई र कुमारी बैंक पनि ठूलो हिस्सेदार हुन्।
विकास बैंकहरूले पनि आफ्नो लगानी वृद्धि गर्दै १८ अर्ब रुपैयाँसम्म पुर्याएका छन् भने फाइनान्स कम्पनीहरूको लगानी ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। यसैगरी, १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा ५३ प्रतिशतले बढेर ८५ अर्ब रुपैयाँ नाघेको छ।
तर, कर्जा वृद्धि भए पनि सेयर बजारमा त्यस्तो रौनक देखिएको छैन। नेप्से सूचक लामो समयदेखि २६००–२७०० विन्दु वरिपरि स्थिर रहेको छ र दैनिक कारोबार रकम पनि औसत ६–७ अर्ब रुपैयाँमै सीमित छ। बजारमा लगानीकर्ता र नीतिगत चुनौतीहरूले गर्दा बजार वृद्धिमा बाधा उत्पन्न भएको जानकारहरुको भनाई छ ।
यसैबीच, मौद्रिक नीतिमा गरिएको संशोधनअनुसार सेयर धितो कर्जामा जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत गरिएको छ जसले लगानीकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ। ब्याजदर घटेपछि लगानी क्षेत्रमा आकर्षण बढ्ने सम्भावना रहेको र बजारमा सुधार आउन सक्ने अनुमान लगाइएको छ।
समग्रमा, बैंक तथा वित्तीय संस्थाहरूको सेयर धितो कर्जा तीव्र रूपमा बढ्दै गए पनि सेयर बजारले त्यो अनुरुप प्रदर्शन गर्न सकेको छैन, तर निकट भविष्यमा बजारमा सुधार आउने सम्भावना रहेको विश्लेषणमा जोड दिइएको छ। यस्तै,नव नियुक्त गभर्नर पौडेलप्रति आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउनेमा लगानीकर्ता आशावादी भएका छन् । बजारले निति पर्खिरहेको हो कि भन्ने अनुमान पनि लगानीकर्ताको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस