Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार फर्किएकै हो ? यसो भन्छन् लगानीकर्ता ...

महेन्द्र शाही

बुधबार, ११ भदौ २०८२, १६ : ०७ मा प्रकाशित

सेयर बजार फर्किएकै हो ? यसो भन्छन् लगानीकर्ता ...

सो साता सेयर बजार लगातार तीन दिन बढेर कारोबार भयो । लगातार रुपमा घटेको बजार आज भने ५३ अंकले बढेर कारोबार बन्द भयो । बजार घट्नु र बढ्नु बजारको स्वाभाविक भए पनि लगातार रुपमा बजार घट्नुलाई लगानीकर्ताहरुले अस्वभाविक रुपमा लिएका छन् । 

अहिले बजारका लागि आवश्यक पर्ने सबै सूचक सकारात्मक हुँदाहुँदै पनि बजारले गति लिन नसक्दा सबैले यो विषयमा निकै चिन्ता व्यक्त गरिरहेका छन् । तर, बुधबार भने बजारमा हरियाली देखियो । यो दिन अघिल्लो दिनको भन्दा कारोबार रकममा पनि सुधार देखियो । अघिल्लो दिन ४ अर्ब १८ करोडको कारोबार भएको बजारमा आज भने साढे ७ अर्बमाथिको कारोबार भएको छ । मौद्रिक नीति पछि लगातार रुपमा बढेको बजार त्यस पछि भने लगातार रुपमा घटेको थियो । यो हप्ताको पहिलो दिन आइतबार १७ अंकले घटेको बजार त्यस पछिका तीन दिनमा भने लगातार बढेर कारोबार भएको छ । बजार घट्नु पर्ने अवस्था केही नभएको अवस्थामा अहिले बजारले गति लिएको लगानीकर्ताहरुको भनाइ छ । बजार घट्नु पर्ने कारण केही पनि नभएको अवस्थामा बजार बढ्नुलाई स्वाभाविक रुपमा लिन सकिने नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ ।

बजार घट्बढ हुने कुरा स्वाभाविक नै भए पनि लगातार रुपमा घटेको अवस्था लगानीकर्ताहरुमा केही निराशा देखिएको सेयर लगानीकर्ता रोहन कार्कीको भनाइ छ । अघिल्ला दुई दिन बजारमा सामान्य वृद्धि देखिएको र लगानीकर्तामा उत्साह थपेकाले नै आज बजार उच्च अंकले बढेको उनको भनाइ छ । ‘बजारका लागि अहिले सबै सूचक सकारात्मक नै रहेको छ । अहिले बजार घट्नु पर्ने कुनै कारण छैन,’ उनले भने । 

बजार निरन्तर घट्ने र बढ्ने अवस्था सँधै नहुने भएकाले अहिले बजार बढ्ने क्रममा रहेको अर्का लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । बजार घट्ने पर्ने कुनै कारण नभए पनि घटेको बजारले गति लिन खोजेको उनले बताए । ‘३२०० पुग्छ भनेर लगानी गरेकाहरु ३००० विन्दुबाट तल झर्दा केही मात्रामा निराश भए पनि बजार अहिलेको अवस्थाबाट फेरि ३००० को आसपासमा पुग्न सक्छ,’ उनले भने ।  दशैँ अघि नै बजार फेरि माथिल्लो विन्दु पुग्छ वा पुग्दैन भनेर एकिन गर्न सक्ने अवस्था नभए पनि अहिलेका सबै सूचकले गर्दा बजार बढ्न लगानीकर्ताहरुको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको