अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वमा रहेको चर्चित भिडियो सेयरिङ एप टिकटक को अमेरिका स्थित कारोबार बिक्रीको समयसीमा फेरि ९० दिनले लम्ब्याउने कार्यकारी आदेश जारी गर्ने भएका छन्। ह्वाइट हाउसले जुन १७ मा सार्वजनिक गरेको जानकारीअनुसार यो निर्णय अमेरिकी पक्ष र टिकटकका मालिक कम्पनी ByteDance बीच चलिरहेको सम्झौता प्रक्रिया सहज बनाउनका लागि गरिएको हो।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनेकी छन्, “राष्ट्रपति ट्रम्प टिकटक बन्द भएको हेर्न चाहँदैनन्। थपिएको ९० दिनको अवधि उपयोग गरी प्रशासनले सम्झौता टुंगोमा पुर्याउन प्रयास गर्नेछ, जसले अमेरिकी जनताको डाटाको सुरक्षा सुनिश्चित गर्छ।”
यसअघि अप्रिलमा पनि ट्रम्पले टिकटकको म्याद ७५ दिनले बढाएका थिए। त्यो समय चीनसँगको व्यापार तनावका कारण सम्झौता असफल भएको थियो। ट्रम्पले त्यसबेला अमेरिकाको स्वामित्वमा आधारित कम्पनी निर्माणको योजना अघि बढाएका थिए, तर चीनले अन्तिम समयमा पछि हटेपछि सम्झौता स्थगित भएको थियो।
क्यानडामा सम्पन्न G7 सम्मेलन बाट फर्किँदै एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फेरि म्याद थप्ने संकेत दिएका थिए। उनले भनिन्, “मलाई विश्वास छ चिनियाँ राष्ट्रपति सी जिनपिङ अन्ततः टिकटकको अमेरिकी कारोबार बिक्रीको सम्झौतामा सहमत हुनेछन्।”
यो ट्रम्प प्रशासनद्वारा टिकटकसम्बन्धी समयसीमा तेस्रोपटक लम्ब्याइएको हो। पहिलोपटक जनवरी २० मा राष्ट्रपति पद सम्हालेकै दिन कार्यकारी आदेशमार्फत म्याद थपिएको थियो। त्यसपछि अप्रिलमा दोस्रोपटक थप गरिएको थियो।
टिकटकमा ट्रम्प स्वयंको पनि उल्लेखनीय उपस्थिति छ, जहाँ उनका फलोअर्सको संख्या १ करोड ५० लाख नाघेको छ। उनले टिकटकलाई युवावर्गसँग जोडिने माध्यमका रूपमा उपयोग गर्दै आएका छन् र यसले आफ्नो चुनावी लोकप्रियतामा सहयोग गरेको पनि बताउँदै आएका छन्। जनवरीमा दिएको अन्तर्वार्तामा उनले टिकटकप्रति “गहिरो आत्मीयता” रहेको बताएका थिए।
हाल अमेरिकी प्रशासन टिकटकलाई सुरक्षित ढंगले सञ्चालन गराउन चाहन्छ र चिनियाँ स्वामित्व हटाउन आवश्यक कदम चालिरहेको छ। यद्यपि सम्झौता कहिले टुंगिन्छ वा ट्रम्पले अझ कति समय म्याद थप्नेछन् भन्ने विषयमा स्पष्टता आएको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस