गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडका कारण निर्जीवन बीमा कम्पनीहरूमा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बीमा दाबी परेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार, उक्त घटनाबाट कुल ५० वटा दाबी निवेदन परेको छ। तीमध्ये सबैभन्दा बढी ११ वटा दाबी नेशनल इन्स्योरेन्स कम्पनीमा परेका छन्। यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा, सलिक इन्स्योरेन्समा ७ वटा, आईजीआई प्रुडेन्सियलमा ६ वटा, शिखर इन्स्योरेन्समा ५ वटा, र नेको इन्स्योरेन्समा ४ वटा दाबी दर्ता भएका छन्।
बाँकी अन्य बीमा कम्पनीमा १ देखि २ वटासम्म दाबी निवेदन परेका छन्।
दाबी भएका ५० निवेदनमध्ये हालसम्म ३० वटा निवेदनबापत १ करोड ५८ लाख ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ भने बाँकी २० वटा निवेदनअन्तर्गत २ करोड ५५ लाख ८२ हजार रुपैयाँको दाबी अझै भुक्तानी दिन बाँकी छ।
तोडफोडबाट भएको क्षतिको वर्गीकरण गर्दा, घर तथा भवनमा तोडफोड र आगजनीका कारण ‘सम्पत्ति बीमा’ अन्तर्गत मात्र २१ वटा निवेदन दर्ता भएका छन्, जसअन्तर्गत २ करोड ५३ लाख ८८ हजार रुपैयाँ दाबी गरिएको छ।
त्यस्तै, निजी सवारीसाधनमा भएको तोडफोड र आगजनीबाट २४ वटा निवेदन परेका छन्, जसमा १ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको दाबी परेको छ। सरकारी सवारीसाधनमा भएको क्षतिका लागि २ वटा निवेदन दर्ता भएका छन्, जसअन्तर्गत १६ लाख १० हजार रुपैयाँको बीमा दाबी माग गरिएको छ।बीमा कम्पनीहरूले बाँकी दाबीहरूको मूल्यांकन र भुक्तानी प्रक्रिया अगाडि बढाइरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस