मर्जर पछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनि गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको व्यवसायको अनुसार ६ कम्पनीको व्यवसाय ३ अर्ब माथि पुगेको हो ।
सार्वजनिक विवरण अनुसार एउटा निर्जीवन बीमा कम्पनीको व्यवसाय भने ४ अर्ब भन्दा माथि रहेको छ । त्यो कम्पनी हो शिखर इन्स्योरेन्स । शिखर सिहित ६ कम्पनीको व्यवसाय ३ अर्ब माथि रहेको छ भने बाँकी ८ कम्पनीको भने ३ अर्ब भन्दा कम रहेको छ । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ९ महिनाको अवधिमा ३६ अर्ब ५८ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अवधिमा कम्पनीहरूले कुल २२ लाख ९ हजार ९८६ वटा बीमालेख जारी गरेका छन् ।
निर्जीवन बीमा कम्पनीहरु मर्जरपछि विस्तारै निर्जीवन बीमा कम्पनीहरुको कारोबार रकम बढ्दै गएको छ । ९ महिनामा ६ कम्पनीले ३ अर्बको व्यापार कटाउँदै १ अर्ब भन्दा पनि कमको व्यवसाय गर्ने कम्पनीमा नेसनल इन्स्योरेन्स रहेको छ । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले पनि चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा १ अर्ब १४ करोडको व्यापार गरेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार चैत मसान्तसम्ममा शिखर इन्स्योरेन्स ४ अर्ब ८० करोड १२ लाख ९८ हजार रुपैयाँको व्यापार गरेको छ । यो अवधिमा शिखरले २ लाख ३८ हजार ६ सय ६७ वटा बीमालेख जारी गरेको छ । त्यस्तै धेरै व्यवसाय गर्नेको दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८३ करोड २३ लाख ६७ हजार रुपैयाँको व्यवसाय गरेको छ । सगरमाथा लुम्बिनीले यो अवधिसम्ममा २ लाख १ हजार ८३८ बीमालेख जारी गरेको छ । व्यापारको आधारको हिसाबले हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो स्थानमा छ । यो कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ७४ करोड ३० लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिसम्ममा कुल २ लाख ४९ हजार ८६७ वटा बीमालेख जारी गरेर उक्त रकमको व्यवसाय गर्न सफल भएको छ । यो अवधिमा बीमालेख संख्याका आधारमा भने युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अघि देखिएको छ । युनाइटेड अजोडले सबैभन्दा धेरै ३ लाख ५३ हजार ७ सय ३८ वटा पोलिसी बिक्री गरेको छ । यो कम्पनीले सबै भन्दा धेरै बीमालेख जारी गरे पनि कुल २ अर्ब ५६ करोड ४६ लाख ६७ हजार रुपैयाँ मात्र व्यवसाय गरेको छ ।
त्यस्तै यो अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ३ अर्ब १२ करोड ९ लाख २८ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले कुल २ लाख ५ हजार ५८८ बीमालेख मार्फत उक्त व्यवसाय गरेको छ । त्यस्तै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १ लाख ७१ हजार ४५३ बीमालेख मार्फत ३ अर्ब १० करोड ३३ लाख ६७ हजार रुपैयाँको व्यवसाय गरेको छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्सले पनि ३ अर्बको सीमा कटाउँदै ३ अर्ब १ करोड ५ लाख ८७ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले १ लाख ६१ हजार ८९३ बीमालेख मार्फत उक्त व्यवसाय गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ संकलन गर्दा सानिमा जीआईसीले २ अर्ब ८ करोड १९ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड ८६ लाख रुपैयाँ आर्जन गर्दा दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस