ईरान र इजरायलबीचको चुलिँदो द्वन्द्वले सोमबार अस्ट्रेलियाको सेयर बजारमा नकारात्मक प्रभाव पारेको छ। अमेरिका र इजरायलले ईरानको आणविक साइटमाथि गरेको आक्रमणपछि विश्वभर लगानीकर्ता सतर्क देखिएका छन्। कच्चा तेलको आपूर्ति, मुद्रास्फीति र आर्थिक वृद्धिबारे चासो बढेसँगै खानी र बैंक कम्पनीहरूको सेयरमा दबाब देखिएको हो।
S&P/ASX 200 इन्डेक्स ०.७ प्रतिशतले घट्दै ८,४४६.० विन्दुमा पुगेको छ। शुक्रबारको कारोबार पनि ०.२ प्रतिशतले ओरालो लागेको थियो। अमेरिकाले ईरानको फोर्दो आणविक साइटमाथि ३०,००० पाउण्ड तौल भएका बंकर बस्टर बम खसालेपछि, ईरानको संसदले होर्मुज जलडमरू बन्द गर्ने निर्णय गरेको छ। होर्मुज जलडमरू विश्वको करिब २५ प्रतिशत तेल ढुवानी हुने मार्ग हो।
वरिष्ठ विश्लेषक काइल रोड्डाले प्रारम्भिक प्रतिक्रिया डरका कारण जल्दबाजीमा हुनसक्ने बताएका छन्। उनका अनुसार इरानले होर्मुजमार्फत तेल ट्यांकरहरू रोक्ने रणनीति अपनाउने सम्भावना कायमै छ।
अर्कोतर्फ, अस्ट्रेलियाका परराष्ट्र मन्त्री पेनी वोंगले अमेरिकाको कारबाहीप्रति समर्थन जनाउँदै तनाव नघटेसम्म कूटनीतिक पहललाई निरन्तरता दिनुपर्ने धारणा राखेकी छिन्।
ऊर्जा कम्पनीहरूको सेयरमा सुधार देखिएको छ। कच्चा तेलको मूल्य पाँच महिनाको उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको ध्यान ऊर्जा कम्पनीहरूमा केन्द्रित भएको छ। Woodside Energy को सेयर ०.६ प्रतिशतले उकालो लाग्दा, Santos को सेयर १.३ प्रतिशतले बढेको छ।
तर, बैंक क्षेत्र कमजोर देखिएको छ। "Big Four" बैंकहरूको सेयर मूल्य ०.७ प्रतिशतदेखि १.६ प्रतिशतसम्म घटेको छ। खानी कम्पनीहरू पनि दबाबमा छन्। चीनको सम्पत्ति बजारमा जारी संकटका कारण फलामे ढुङ्गाको मागमा कमी आउँदा खानी कम्पनीहरूले असर ब्यहोरेका छन्। BHP को सेयर १.२ प्रतिशतले र Rio Tinto को सेयर ०.१ प्रतिशतले घटेको छ।
यसैबीच, थोक वितरण कम्पनी Metcash को सेयर मूल्य ५.४ प्रतिशतले उकालो लागेको छ। कम्पनीको वार्षिक नाफा १० प्रतिशतले वृद्धि भएपछि यो ASX 200 मा सबैभन्दा धेरै बढ्ने कम्पनी बनेको हो।
अब बजारको ध्यान अस्ट्रेलियाको उपभोक्ता मूल्य सूचकांक (CPI) विवरणतर्फ केन्द्रित भएको छ। यो विवरणले रिजर्भ बैंक अफ अस्ट्रेलियाको आगामी ब्याजदर सम्बन्धी नीतिमा महत्वपूर्ण संकेत दिनेछ।
छिमेकी न्यूजील्यान्डको S&P/NZX 50 इन्डेक्स पनि ०.२ प्रतिशतले घट्दै १२,५४४.७३ विन्दुमा बन्द भएको छ।
एजेन्सीको सहयोगमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस