बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर आगामी असार ३१ गतेदेखि निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर १:१ को अनुपातमा जारी गर्न लागेको हो। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको छ।
बुक क्लोज जेठ २२ मा
कम्पनीले जेठ २२ गते बुक क्लोज गरेकाले जेठ २१ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले असार ३१ गतेदेखि साउन १९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बिक्री व्यवस्थापन आरबिबि मर्चेन्टको जिम्मा, देशभर शाखाबाट आवेदन दिन सकिने
यस हकप्रद सेयरको निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड लाई दिइएको छ। लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङसँगै राष्ट्रिय वाणिज्य बैंकका विभिन्न १५ वटा शाखाहरू — विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान —बाट पनि आवेदन दिन सक्नेछन्।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सेवा अन्तर्गतका सबै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र सीडीएससीको 'मेरो सेयर' प्रणाली मार्फत पनि सहज रूपमा आवेदन दिन सकिनेछ।
रेटिङ्ग -पूँजी
कम्पनीलाई CARE-NP BB Issuer Rating प्राप्त भएको छ, जसले वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
हाल बरुण हाइड्रोपावरको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बाँडफाँडपछि पूँजी दोब्बर हुँदै १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस