माबिलुङ्ग इनर्जी लिमिटेडले यही असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) सुरू गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको छ।
प्रथम चरणमा, कम्पनीले ३ लाख ८५ हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभाविततर्फको आईपीओमा संखुवासभा जिल्लाको मादी नगरपालिका–७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ वडामा स्थायी रूपमा बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।
न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार ४ गते रहेको छ। आयोजना प्रभावित समूहबाट पूर्ण आवेदन नपरेमा यो अवधि असार १९ गतेसम्म लम्बिन सक्नेछ। तर, वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि अवधि नलम्बिने कम्पनीले स्पष्ट पारेको छ। आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। साथै, ग्लोबल आइएमई बैंक (चैनपुर शाखा), हिमालयन बैंक (मादी नगरपालिका शाखा), लक्ष्मी सनराइज बैंक (खाँदबारी शाखा) र आयोजनाको पावरहाउस कार्यालयबाट पनि आवेदन दिन सकिनेछ।
यसका अतिरिक्त, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो सेयर पोर्टलमार्फत पनि आवेदन दिन सकिनेछ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस