नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा बढ्दो खराब कर्जाका कारण बैंक तथा वित्तीय संस्थाहरूमा समस्या देखिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले प्राथमिकता दिइएका कृषि र एसएमई क्षेत्रमा कर्जाको अवस्था बिग्रँदा आगामी मौद्रिक नीतिलाई प्रभावकारी बनाउन चुनौती थपिएको उल्लेख गरे। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणमा यी क्षेत्रहरूमा देखिएको खराब कर्जा समस्या समाधानलाई केन्द्रमा राखिनेछ।
‘हामीले प्रोत्साहन दिएको कृषि र साना तथा मझौला उद्यम क्षेत्रमा नै खराब कर्जा बढ्दो छ,’ गभर्नर पौडेलले भने, ‘अब यस समस्याको समाधानमा नै बढी ध्यान दिनुपर्ने देखिन्छ।’
उनले मौद्रिक प्रणालीले समाजमा दुई प्रकारका वर्ग—धनी र ठूला व्यवसायीहरू एकातिर र कृषक तथा साना उद्यमीहरू अर्कोतिर—उत्पन्न गर्ने खतराप्रति चिन्ता व्यक्त गरे। ‘अस्थिरताको बेला सबै क्षेत्र प्रभावित हुन्छन्,’ उनले भने, ‘त्यसैले समावेशी र सबैलाई समेट्ने नीतिगत संरचना आवश्यक छ। कर्जा सबैको पहुँचमा हुनुपर्छ, सबैलाई समान अवसर मिल्नुपर्छ।’
गभर्नर पौडेलले मौद्रिक नीतिमात्रै अर्थतन्त्र सुधारको एकमात्र उपाय नभएको स्पष्ट पारे। अहिलेको आर्थिक समस्याको समाधानका लागि सरकारको नेतृत्वमा वित्त नीतिले ऊर्जा, सडक, पुलजस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने उनले बताए।
‘मात्र मौद्रिक नीतिले समाधान सम्भव छैन,’ उनले भने, ‘वित्त नीतिले अग्रसरता लिनुपर्छ, पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्छ। यस्तै समन्वयबाट मात्र आर्थिक स्थायित्व हासिल गर्न सकिन्छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस