नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समिति बीच एक रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ।
क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको अवधारणामा आधारित यो सहकार्यले नेपालको डिजिटल रूपान्तरणलाई गति दिने विश्वास गरिएको छ। एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवाल र क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेको उपस्थितिमा सम्पन्न कार्यक्रममा अधिकारी र विज्ञान श्रेष्ठ (एनसीसी आईटी समिति अध्यक्ष) ले आधिकारिक हस्ताक्षर गरेका थिए।
समझदारीपत्रले नेपालमा आईटी उद्योगलाई व्यवस्थित, सुदृढ र विश्वसनीय बनाउने साझा उद्देश्य बोकेको छ। मुख्य बुँदाहरूमा नीति सिफारिस, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, नियमित आईटी फोरम तथा नेटवर्किङ कार्यक्रम, आपसी ब्रान्डिङ, र सदस्यता संलग्नता प्रवर्द्धन रहेका छन्।
यस सन्दर्भमा अधिकारीले भने, “नेपालको सूचना प्रविधि क्षेत्रलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धी बनाउने हाम्रो साझा यात्राको यो महत्वपूर्ण सुरुवात हो।”
योजना कार्यान्वयनका लागि दुवै संस्थाबाट फोकल संयोजकहरू तोकिनेछन्, जसले त्रैमासिक समीक्षा बैठकमार्फत प्रगति मूल्याङ्कन र आगामी कार्यक्रमहरूको योजना बनाउनेछन्। समझदारी तीन वर्षका लागि लागू हुनेछ, जुन आपसी सहमतिमा विस्तार गर्न सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस