स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विद्युत उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ । इप्पानले आज एक विज्ञप्ति जारी गर्दै गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
इप्पानले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको हो । बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ । इप्पानका अनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएका छन् ।
इप्पानका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशूली–३ ए जलविद्युत्, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको छ ।
त्यस्तै निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस