आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारमैत्री रहेको लगानीकर्ताहरुले बताएका छन् । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले व्यक्तिगत सेयर धितो कर्जा तथा लघुवित्तको लाभांशमा परिमार्जन गर्ने लगायतका विषयहरु समावेश हुनु सकारात्मक रहेको सरोकारवालाहरुको भनाइ छ ।
लगानीकर्ताहरुले व्यक्तिगत तर्फको सेयर कर्जाको सिमा २५ करोडसम्म कायम गर्ने कुरा र लघुवित्तहरुले १५ प्रतिशतसम्म मात्रै वितरण गर्न पाउने लाभांशमा परिमार्जन गर्ने विषयले बजारमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । मौद्रिक नीतिमा कुनै पनि कुरा नकारात्मक नरहेको र बजारका लागि उपयुक्त नै रहेको नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोडेलाल रौनियारले बताए । व्यक्तिगत तर्फको १५ करोडको सीमालाई २५ करोड पु¥याउनु, लघुवित्तको १५ प्रतिशतसम्मको स्याल्पमा पुनःविचार गरिने विषयहरु सकारात्मक रहेको उनको भनाइ छ । यस्ता कुराले बजारमा थप लगानी आउने र बजार चलायमान हुनका लागि सहयोग पुग्ने रौनियारको भनाइ छ । यसले बजारमा थप लगानी आउनुका साथै बैंकको आम्दानी र लगानी पनि बढ्ने उनले बताए ।
त्यस्तै नेपाल धितोपत्र दलाल संघका पूर्व अध्यक्ष भरत रानाभाटले पनि मौद्रिक नीति सकारात्मक रहेको र लगानीकर्तामा यसले उत्साह थप्ने बताए । बजारले अपेक्षा गरे अनुसारको नै नीति आएको बताउँदै रानाभाटले नकारात्मक कुरा केही पनि नरहेको प्रतिक्रिया दिए ।
‘मौद्रिक नीतिमा नकारात्मक कुरा केही छैन । हामीले चाहेको जस्तो नै छ । सबै कुरा त सम्भव हुँदैन । तर जे जति आएको छ त्यो सकारात्मक नै छ,’ उनले भने । बजारका लागि व्यक्तिगत सेयर धितो रोखर लिन पाउने कर्जाको सीमा १५ करोडबाट २५ करोड कायम गर्नु र लघुवित्तको लाभांश वितरणका सम्बन्धमा भएको व्यवस्थामा पुनःविचार गर्ने कुरा सकारात्मक रहेको उनले बताए ।
त्यस्तै नेपाल धितोपत्र दलाल संघका अध्यक्ष सागर ढकालले पनि मौद्रिक नीति सेयर बजार मैत्री भएको प्रतिक्रिया दिए । लघुवित्तको बोनसको क्याप र व्यक्तिगत तर्फको सेयर धितो कर्जाको सीमा बढाउने कुरालाई सकारात्मक रुपमा लिनु पर्ने र यसले लगानीकर्तामा उत्साह थप्ने उनको भनाइ छ । त्यस्तै सेयर विश्लेषक डा. चन्द्रमणि अधिकारीले पनि सेयर धितो कर्जाको मार्जिन बढाउनु सकारात्मक रहेको बताए । समग्र अर्थतन्त्रलाई नै मौद्रिक नीतिले सुधार गर्ने भन्दा पनि गर्नु पर्ने क्षेत्रमा सुधार ल्याउने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस