Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ठेकेदारको इशारामा नाचिरहेको छ - प्रभु साह

अर्थ संसार

मंगलबार, ३१ असार २०८२, १६ : ०३ मा प्रकाशित

सरकार ठेकेदारको इशारामा नाचिरहेको छ - प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले फास्ट ट्र्याक निर्माणमा अत्यधिक ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले फास्ट ट्र्याक सुरु भएको समयमा नै मध्यपहाडी लोकमार्ग पनि सुरु भएको तर दुवैको प्रगतिमा ठूलो अन्तर देखिएको बताए।

'मध्यपहाडी लोकमार्गमा करिब १४ सय किलोमिटर सडक पिच भइसकेको छ, ८५ प्रतिशत प्रगति भएको खबर छ। तर फास्ट ट्र्याकमा एक इन्च पनि पिच भएको छैन, किन ?' भन्दै उनले प्रश्न गरे।

साहले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको ६ वर्ष भइसकेको भन्दै सेनामाथिको विश्वास गुमाउने काम भइरहेको चेतावनी दिए। उनका अनुसार सुरुङमार्ग र पुलको काममा करिब ४० प्रतिशत प्रगति भए पनि पिचको काम शून्य रहेको छ। उनले खोकनामा त कामको प्रगति नै नगन्य रहेको उल्लेख गरे।

देशका अन्य मुख्य राजमार्गहरू जस्तै बुटवल–नारायणघाट, मुग्लिङ–काठमाडौं, मुग्लिङ–पोखरा र नाउबिसे–नागढुंगा सडकहरूमा पनि काम रोकिएको वा ढिलो भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे। उनको आरोप छ कि सडक निर्माणमा ढिलासुस्तीको कारण अनियमितता हुन सक्ने सम्भावना छ। 'सरकार बिना कारण म्याद थपेर लुटको बाटो बनाइरहेको छ 'उनले भने।

साहले समयमा काम नसक्ने ठेकेदारलाई जरिवाना, ठेक्का रद्द र कालोसूचीमा राख्नुपर्नेमा सरकार गम्भीर नदेखिएको बताए। बिना आधार म्याद थपिनु नीतिगत भ्रष्टाचार हो भन्ने जिकिर गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्तो भ्रष्टाचारको गम्भीर छानबिन गर्न आग्रह गरे।

'ठेकेदारको इशारामा सरकार नाचिरहेको छ, यस्ता कामहरू बन्द गरिनुपर्छ,' उनले चेतावनी दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको