हिमालयन बैंक लिमिटेडले जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज आइतबार, साउन ४ गते अन्तिम दिन रहेको छ। बैंकले असार ३२ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट असार २२ गते स्वीकृति प्राप्त गरी बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता शेयर सर्वसाधारणका लागि एफपीओमार्फत निष्कासन गरेको हो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार बैंकले आफ्नो जारी पुँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई छुट्याउनुपर्ने प्रावधान अनुरूप एफपीओ निष्कासन गरिएको हो।
एफपीओ निष्कासनपछि हिमालयन बैंकको संस्थापक समूहतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारण समूहतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर रहनेछ।
इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एफपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस