यो साता सेयर बजार करिब ४ प्रतिशतले बढेर बन्द भएको छ । यो साताको पाँच कारोबार दिनमा सबै दिन बढेको बजार १११.६९ अंक अर्थात् ३.८९ प्रतिशतले बढेको हो ।
साताको पहिलो दिन आइतबार २८७०.९५ विन्दु रहेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार बढेर २९८२.६४ विन्दुमा पुगेको हो । सेयर बजार परिसूचक गत वर्षको साउन मसान्त यताकै उच्च अंक हो । गत वर्षको साउन ३० गते सेयर बजार ३००० विन्दु पुगेको छ । मध्य असारबाट गति लिएको बजारले साउन लागेपछि अझ रफ्तार लिएको छ । यो साताको आइतबार सामान्य बढेको बजार सोमबार भने दोहोरो अंकले बढेको थियो ।
मंगलबार भने सेयर बजार ८० अंक भन्दा बढीले बढेको थियो । आइबार ०.३२ अंकले बढेको बजार सोमबार २१.७६, मंगलबार ८०.९७ अंकले बढेको थियो । बुधबार ५.१७ अंकले बढेको बजार बिहीबार पनि ३.७६ अंकले बढेर कारोबार भएको थियो । परिसूचक मात्रै नभएर यो साता सेयर बजारमा कारोबार रकम पनि उच्च नै भएको छ । साताको पहिलो दिन आइतबार ११ महिना यताकै उच्च कारोबार भएको थियो । त्यो दिन बजारमा २१ अर्ब ४६ करोड माथिको कारोबार भएको थियो । त्यस्तै सोमबार केही घटेर १६ अर्ब ३२ करोड, मंगलबार फेरि बढेर २० अर्ब ८ करोड, बुधबार १९ अर्ब ५७ करोड माथि र साताको अन्तिम दिन बिहीबार १८ अर्ब ४९ करोड माथिको कारोबार भएको थियो ।
सेयर बजारमा यो साता तीन वटा नयाँ किर्तीमान कायम भएका छन् । यो साता कुल बजार पुँजीकरण हालसम्मकै उच्च बन्यो । त्यस्तै यो साता नै अन्य समूहको परिसूचक पनि हालसम्मकै उच्च विन्दुमा पुग्यो भने हाइड्रोपावर समूहको सूचकमा पनि यो साता नयाँ रेकर्ड नै बन्यो ।
साताको अन्तिम कारोबार दिन बिहीबार बजार पुँजीकरण ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । यो सेयर बजारका हालसम्मकै धेरै बजार पुँजीकरण हो । त्यस्तै यो साताको बुधबार अन्य समूहको परिसूचक २७२७ अंकमा पुग्यो । यो पनि अर्को किर्तीमान थियो । त्यस्तै बिहीबार हाइड्रोपावर समूह सूचकले पनि नयाँ किर्तीमान बनायो । यो समूहको परिसूचक ३९४१ अंकमा पुग्यो ।
पछिल्लो समय नयाँ आर्थिक वर्ष लागेसँगै सेयर बजार दिन प्रतिदिन बढी रहेको छ । अहिले बढी रहेको सेयर बजारले हालसम्मकै उच्च विन्दु ३२०० पार गर्ने सेयर बजारका जानकारहरुले बताइरहेका छन् । यो साता नै सेयर बजार परिसूचक कारोबार समयमा ३००० विन्दुभन्दा माथि पुगेको थियो । बजेट र मौद्रिक नीति दुवै बजारमैत्री आएकाले सेयर बजार वृद्धि हुनमा सहयोग पुगेको लगानीकर्ताहरुको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस