गत साताको मंगलबार (साउन १३ गते) सेयर बजार पछिल्लो ४ वर्ष यताकै उच्च विन्दुमा पुगेर रोकियो । बजार ३००२.०७ विन्दुमा पुगेर त्यो दिनको कारोबार रोकियो । जुन २०७८ सालको भदौ २ गते पछिको उच्च अंक हो ।
२०७८ सालको भदौ २ गते कारोबार बन्द हुँदा नेप्से परिसूचक ३१९९.०३ विन्दुमा पुगेर बन्द भएको थियो । त्यो दिनको कारोबार समयमा बजार परिसूचक ३२२६ विन्दुसम्म पुगेको थियो । जुन नेपाली सेयर बजारमा हालसम्मकै उच्च हो । त्यस पछिका दिनमा भने बजारले त्यो विन्दु हासिल गर्न सकेको छैन । त्यसै बीच साउन १३ गतेको कारोबार बन्द हुँदा परिसूचक ३००० विन्दु माथि पुगेर रोकिदा अब बजारले गति लिने विश्वास गरिएको थियो । तर त्यस पछिका दुई कारोबार दिनमै नेप्से परिसूचक ७९.४ अंकले घटेर २९२२.६३ विन्दुमा पुगेको छ । यसले अहिले बजारमा आएको यो गिरावटले भने लगानीकर्ताहरुले थप झस्काएको छ । केही लगानीकर्ताहरुले बजार ४ हजार विन्दु भन्दा माथि पुग्ने बताएको भए पनि बजार फेरि २८ सयको लाइनमा फर्किन लागेको जस्तो पनि देखिन्छ ।
गत साताको बुधबार र बिहीबार बजारमा आएको गिरावटलाई लगानीकर्ताहरुले करेक्सन मात्रै भनेका छन् । लगातार रुपमा बढेपछिको करेक्सनकै रुपमा यसलाई हेर्नु पर्ने लगानीकर्ताहरुको भनाइ छ । १०–१२ दिन बढेकाले बुधबार र बिहीबार बजारमा करेक्नस देखिएको नेपाल इन्भेटरर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । बजारका लागि आवश्यक सबै सूचक सकारात्मक रहेकाले बजार बढ्ने उनले बताए । केहीले नाफा बुक गरेकाले पनि बजारमा केही गिरावट देखिएको उनको भनाइ छ । ‘अहिले आत्तिनु पर्ने र डराउनु पर्ने अवस्था केही छैन । कहि दिनको करेक्सन मात्रै हो बजार बढ्छ,’ उनले भने ।
केही दिन बजार घट्दैमा आत्तिनु भन्दा पनि लगानीकर्ताले धर्यता राख्नु पर्ने उनले बताए । अहिले कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउने समय भएकाले पनि केही मात्रामा बजार घटेको हुन सक्ने भए पनि बजार घट्ने लाइनमा नरहेको उनको भनाइ छ ।
बजार उकालो लागेकाले ४ वर्ष पहिलेको रेकर्ड यो पटक तोडिने पनि कतिपयको भनाइ छ । २ हजारको मानोविज्ञानले गर्दा बजार २०० अंकले बढाउने र घटाउने काम भइरहने अर्को एक लगानीकर्ताको भनाइ छ । साइकोलोजिले मात्रै बढ्ने मार्केट यस्तै हुने उनको भनाइ छ । ‘फण्डामेन्टल कुराले भन्दा युमरले मात्रै बढ्ने मार्केट यस्तै हो,’ उनले भने ।
सेयर बजारको दुई दिनको घटाइलाई करेक्सन नै मान्नु पर्ने लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । बजार घट्नु पर्ने कारण नभएकाले अहिले बजारलाई करेक्सन कै रुपमा हेर्नु पर्ने उनले बताए । ‘मानिसलाई ३ हजारको नजिक पुग्दा एक वर्ष देखि त्यो ठाउँमा हामिङ भएर बसेका छन् । उनीहरुलाई बजार यो अवस्थामा पुग्दा गत वर्ष पनि अवसर गुमायौँ भन्ने भयो । मानिसहरु ठाउँठाउँमा तर्सिन्छन्,’ उनले भने । आजसम्मलाई सेयर बजारलाई केरेक्सनकै रुपमा हेर्नु पर्ने उनले बताए । आइतबारको दिनभरको कारोबार हेरेपछि मात्रै यो विषयमा थप विश्लेषण गर्न सकिने उनको भनाइ छ । ‘एक वर्ष देखि बजार २५००–२७०० मा खेलेकोले अहिले बजार २८००–३००० खेल्न खोजेको हो कि ?’ उनले भने, ‘यदि २८००–३००० हजारमा खेल्न खोजेका भए बजार अझै तलआउँछ ।’ गत वर्ष भन्दा पोलिसीहरु पनि राम्रो नै रहेकाले बजार बढ्नु पर्ने उनको भनाइ छ ।
गत साताको अन्तिम दुई कारोबार दिन सूचक मात्रै घटेन, कारोबार रकम पनि गिरावट आयो । गत साताको आइतबार २६ अर्ब ५७ करोड माथिको कारोबार भएको थियो । उक्त रमक गत आर्थिक वर्षको भदौ महिना पछिको उच्च मूल्य थियो । त्यस पछिका हरेक दिन कारोबार रकम घटेको छ । गत साताको सोमबार बजारमा १९ अर्ब ३६ करोड माथिको कारोबार भएको थियो । मंगलबार अझै घटेर साढे १८ अर्बको कारोबार भएको थियो । बुधबार १६ अर्ब ४४ करोड बढीको कारोबार भएको थियो भने साताको अन्तिम दिन बिहीबार १५ अर्ब ३६ करोड बढीको मात्रै कारोबार भएको थियो ।
गत साताको ५ काराबार दिनमा परिसूचक ६० अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २९८२ विन्दुमा बन्द भएको परिसूचक गत साताको बिहीबार २९२२.६३ विन्दुमा पुगेको थियो । गत साता सेयर बजार सोमबार र मंगलबार मात्रै बढ्यो भने अन्य दिन घटेर कारोबार भएको थियो । त्यहि मंगलबार बजार ४ वर्ष यताकै उच्च विन्दुमा पुगेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस