अब नेपाली बीमा कम्पनीहरूले भारतमा रहेका विशेषज्ञहरूसँग काम गर्दा उनीहरूलाई भुक्तानी गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु पर्ने छैन। राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले एक्चुअरी, भ्यालुएसन वा सर्वे जस्ता प्राविधिक सेवाका लागि भारतमा रहेका प्राकृतिक व्यक्तिहरूलाई भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणको सिफारिसको आधारमा नै वाणिज्य बैंकमार्फत सटही सुविधा प्राप्त गर्न सक्नेछन्।
यो परिपत्र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा आधारित रहेर जारी गरिएको हो, जसले विदेशी मुद्रा कारोबार सम्बन्धी नीतिहरूमा थप स्पष्टता ल्याउने उद्देश्य राखेको छ।
राष्ट्र बैंकले आयात सम्बन्धी प्रक्रिया पनि परिमार्जन गरेको छ। अब आयातकर्ताले खोल्ने प्रतीतपत्र (एल/सी) अन्तर्गत विदेशी लाभग्राहीलाई भुक्तानी गर्दा सम्बन्धित बैंकले आफ्नै कर्पोरेसन बैंक प्रयोग गरेर विद्युतीय माध्यमबाट रकम पठाउनु पर्नेछ। यदि आयात गरिएका सामग्रीमा लाग्ने भन्सार महसूल आयात मूल्यको १० प्रतिशतभन्दा कम भएमा, आयातकर्ताको अनुरोधमा सो अनुपातमा चेक जारी गर्न सकिनेछ। बाँकी रकम धरौटीका रूपमा राखिने र त्यो फिर्ता लिन आवश्यक कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ।
व्यक्ति विशेषलाई सटही सुविधा दिनुपर्ने अवस्थामा भने सम्बन्धित विभागको स्वीकृति लिने व्यवस्था यथावत् राखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूले सफ्टवेयर सेवा खरिद गर्दा विदेशी मुद्रा कारोबारमा देखिन सक्ने जोखिम न्युनिकरणका लागि आवश्यक सुरक्षा उपायहरू अपनाउनुपर्ने व्यवस्था पनि परिपत्रमा समेटिएको छ।
व्यक्तिगत प्रयोजन, जस्तै: विदेश भ्रमण, उपचार वा उच्च शिक्षाका लागि सटही सुविधा माग गर्दा आवश्यकता र औचित्यको आधारमा मूल्याङ्कन गरी सुविधा उपलब्ध गराइनेछ। विदेशी संस्थाबाट प्राप्त कागजातहरू पेश गर्दा भने ती प्रमाणित गरिएका हुनुपर्नेछन्। साथै, राष्ट्र बैंकले अब इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक तथा पूर्वाधार विकास बैंकलाई ७ दिनसम्मको अवधिमा रूपान्तरणयोग्य विदेशी मुद्रामा अन्तर बैंक कारोबार गर्न अनुमति दिएको छ।
<p>
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस