कृषि विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा ४८.८८ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकको अन्तिमसम्ममा बैंकको यस्तो नाफा २ अर्ब ५७ करोड १५ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफामा सुधार देखिएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.२१ प्रतिशत घटेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.८४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१.२९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ । जसका कारण खुद ब्याज आम्दानी घटेपनि सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९ रुपैयाँ ७ पैसा बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको छ । सो अवधिसम्ममा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
१३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस