गत आर्थिक वर्षमा धौलागिरी लघुवित्तको नाफा धनात्मक अवस्थामा पुगेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १ करोड ५३ लाख रुपैयाँले धनात्मक अवस्थामा पुगेको हो ।
अघिल्लो आवसम्ममा यो लघुवित्तको नाफा ऋणात्मक अवस्थामा रहेको थियो । लघुवित्त अघिल्लो आवको असार मसान्तसम्म १ करोड ४४ लाख रुपैयाँले नोक्सानीमा रहेको थियो । वित्तीय विवरण अनुसार अघिल्लो वर्ष ७ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले गत वर्ष दोब्बरले वृद्धि गर्दै १४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यता अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ११ करोड ६४ लाख रुपैयाँ रहेकोमा गत वर्ष भने घटेर २ करोड ९० लाख रुपैयाँमा झरेको छ । यद्यपि कम्पनी अघिल्लो वर्ष १ करोड ४६ लाख रुपैयाँ सञ्चालन घाटामा रहेकोमा गत वर्ष त्यसलाई घटाएर १ करोड ५५ लाख रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ ।
योसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि १०.८५ रुपैयाँ ऋणात्मकबाट ११.४३ रुपैयाँ धनात्मक भएको छ भने प्रतिसेयर नेटवर्थ १००.६४ रुपैयाँ कायम भएको छ । १३ करोड ३१ लाख रुपैयाँ चुक्त पुँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ९ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल वितरणयोग्य नाफा अघिल्लो वर्ष १ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ८ लाख ५५ हजार रुपैयाँले धनात्मक भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस