माबिलुङ एनर्जी लिमिटेडले आजदेखि (साउन २६ गते, सोमबार) सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दिइएको सेयर बाँडफाँट सम्पन्न भइसकेकाले दोस्रो चरणको निष्काशन सुरु भएको हो।
विवरण
कम्पनीले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसको मूल्य १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबर छ। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको थियो भने १ लाख ५० हजार ४७१ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ।
सर्वसाधारणका लागि दोस्रो चरणमा १३ लाख ५४ हजार २३५ कित्ता सेयर निष्काशन हुँदैछ। यसमध्ये ३० हजार ९५ कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
आवेदन सीमा र मिति
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ। निष्काशन छिटोमा साउन २९ गते बन्द हुनेछ भने ढिलोमा भदौ ९ गते बन्द हुनेछ।
रेटिङ्ग र जोखिम मूल्यांकन
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इश्युअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
आयोजनाको विवरण
माबिलुङ एनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष तोकिएको छ।
आवेदन प्रक्रिया
सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस