बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भोलिदेखि दोस्रो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै भोलिदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
यो आईपीओमा कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ । निष्कासन बन्द छिटोमा भदौ १५ गते हुनेछ तर उक्त दिनसम्म माग गरे बमोजिम आवेदन नपरेको खण्डमा भने निष्कासन अवधि थपिएर भदौ २५ गतेसम्म खुल्ला रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँड सम्बन्धी सम्पूर्ण काम नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस