सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरूसँग हुलाक सेवासम्बन्धी सम्झौता गर्नु आवश्यक रहेको बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विदेशमा रहेका नेपालीहरूले हुलाक सेवा प्रभावकारी रूपमा उपयोग गर्न सक्ने वातावरण बनाउन यस्तो सम्झौता आवश्यकता रहेको बताएका हुन् ।
नेपाली नागरिक बसोबास गर्ने देशहरूमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाली नागरिक भएका सबै देशहरूमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताए ।
उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ । ती ती देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्यो । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढेर जान्छ । अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरूसँग पनि हुलाक सम्झौता गर्नुपर्यो । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रूपमा विकास गर्नसक्छौं ।’
उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस