नेप्सेले गत वर्षको चैत्र ७ गतेदेखि भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने गरि व्यवस्था लागु गर्यो । अन्तिम समयमा सेयर मूल्य बढाउने र घटाउने क्रमलाई रोक्नका लागि भन्दै यो व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो । कार्यान्वयनमा आएको ४–५ महिनाकै अवधिमा यो व्यवस्थाको विरोध सुरु भएको छ ।
लगानीकर्ताहरूको भनाइमा, अहिलेको बजार घट्नुको मुख्य कारण नै अन्तिम १५ मिनेटको औसत मूल्य गणनाको व्यवस्था हो। चैत ७ गतेदेखि लागू गरिएको यस व्यवस्थाले बजारमा यति ठूलो असर पारेको छ कि एक दिन त ‘१५ मिनेटको औसत’ भनिए पनि वास्तविक औसत मूल्य तीन घण्टा ढिलो गरी मात्र सार्वजनिक भएको थियो। त्यस पछि यो स्टिमप्रति लगानीकर्ताहरु थप आक्रोशीत बन्न पुगे । केही लगानीकर्ताहरुले यो व्यवस्थानै हटाउनु पर्नेसम्मको माग समेत गरे । यो विषयमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा लिखित रुपमा नै गुनासो दर्ता गराएका छन् । निरन्तर रुपमा यसको विरोध भए पछि अहिले बोर्डले नै यो विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । केही दिन अघि बोर्डले उपनिर्देशक रितेश ताम्राकारको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
केही लगानीकर्ताहरुले भने यो व्यवस्था नै आवश्यक नरहेको सम्म बताएका छन् । सानो बजारमा १५ मिनेटको औषत गणनाको आवश्यक नै नरहेको लगानीकर्ता सुवास भट्टराईको भनाइ छ । बजारलाई स्वतन्त्र रुपमा चल्न दिनु पर्ने उनको भनाइ छ । ‘हाम्रो बजार अहिले पनि परिपक्क बन्न सकिरहेको छैन । यो अवस्थामा यस्तो व्यवस्था नै आवश्य छैन,’ उनले भने । यो १५ मिनेटको औषत गणना व्यवस्था नै खारेज गर्नु पर्ने उनको भनाइ छ । अहिले बजार घटेको अवस्थामा लगानीकर्ताले यसको विरोध गरेको भए पनि यो व्यवस्थाको माग लगानीकर्ताकै भएकाले हटाउने वा राख्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । लगानीकर्ताहरुको आग्रह अनुसार नै यो व्यवस्था लागु गरिएकाले अहिले ‘नेपाल धितोपत्र बोर्ड (सेवोन)ले बजारको औषत भारित मूल्य लगानीकर्ताकै आग्रहमा लागु गरेको हो । अहिले हतारमा यो हटाउनु पर्छ भन्ने पक्षमा म छैन,’ उनले भने ।
सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेले भने भारित औषत गणाना लगानीकर्ताकै माग अनुसार आएकाले घटाउने भन्दा पनि यसमा पुनरावलोकन गर्नु पर्ने बताए । गणना विधिमा केही शंका देखिए पनि बजार यसैका कारणले घटेको हो भन्न नसकिने उनको भनाइ छ । ‘भारित औषत गणना विधिमा केही शंका गर्न सकिन्छ । तर यहि कारणले बजार घटेको भन्ने कुरालाई मान्न सकिदैन,’ उलने भने ।
लगानीकर्ताको माग अनुसार नै भारित औषत गणना लागू गरेको र लगानीकर्ताको विरोध पछि यो विषयमा देखिएको समस्या अध्ययन गर्न समिति समिति गठन गरिएको र यसले तथ्य कुरा सार्वजनिक गर्ने धितोपत्र बोर्डका सह प्रवाक्ता तोलाकान्त न्यौपानले जानकारी दिए । ‘अहिले १५ मिनेटको भारित औषत हटाउने भन्ने भन्दा पनि यसमा भएका त्रुटीको बारेमा अध्ययन गर्नका लागि समिति गठन गरिएको हो,’ उनले भने । समितिले दिएको सुझाबको आधारमा बोर्ड अघि बढ्ने उनको भनाइ छ । कुनै ठूलै समस्या भएको खण्डमा यो हट्न पनि सक्ने सहप्रवक्ता न्यौपानेको भनाइ छ ।
हाल नेप्सेले नियमित कारोबार समय बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हरेक कारोबारको मूल्यलाई सूचीकृत सेयर संख्याले गुणान गरी मुल्य निकाल्ने गरेको छ । ३ बजेपछि भने सूचकांक गणनामा फरक तरिका प्रयोग हुन्छ । सो समयमा नेप्से स्वचालित प्रणालीले कारोबार भएका सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्छ । स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य निकाल्ने गरिएको छ । यसलाई नै त्यो दिनको अन्तिम मूल्य मान्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस