नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। बीमा क्षेत्रको नियमनकारी निकायले जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीहरूका वित्तीय स्रोतहरूको लगानी दायरा विस्तार गर्दै भदौ १७ गते स्वीकृत गरी यो निर्देशिका लागू गरेको हो।
निर्देशिका अनुसार, जीवन बीमा तथा लघुजीवन बीमा कारोबार गर्ने बीमकहरूले आफ्नो प्रत्येक पोर्टफोलियोअन्तर्गतको जीवन बीमा कोष, प्रिमियम तथा अन्य आम्दानीबाट प्राप्त रकमको लगानी र सम्पत्तिको व्यवस्थापन अलग–अलग गर्नुपर्नेछ। साथै, बीमकले हरेक पोर्टफोलियो तथा सेयरधनी कोषबाट लगानी तथा खरिद गरिएका सम्पत्तिहरूको लेखांकन पनि पृथक रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ।बीमकहरूले आफ्नो कोषमा रहेको रकममध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकमा मुद्दति निक्षेप गरेका रकमहरू बीमा प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने प्रावधान पनि निर्देशिकामा समावेश गरिएको छ।
संशोधित निर्देशिकाले बीमा कम्पनीहरूलाई नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशतसम्म लगानी गर्न दिने व्यवस्था गरेको छ। यसअघि यस क्षेत्रमा २५ प्रतिशत मात्रै लगानी गर्न पाइन्थ्यो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस