एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले यसपटक उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी शेयर निष्काशन गर्ने तयारी गरेको हो।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबर, अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ।
यसअनुसार, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२९ कित्ता शेयर छुट्याइएको छ। यी शेयर चितवनको रत्ननगर नगरपालिकाका सबै वडाका बासिन्दाले खरिद गर्न सक्नेछन्।
सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत भाग अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तोकिएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेका नेपालीले आवेदन दिन सक्नेछन्।
यसबाहेक कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ छिटोमा असोज १२ गते बन्द हुनेछ भने ढिलोमा असोज २७ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्यांकनमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी (BB) प्रदान गरेको छ। यसले कम्पनीको दायित्व पुरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। स्थानीय बासिन्दाले कम्पनीको कार्यालय रत्ननगर, चितवन, प्रभु क्यापिटल कमलादी वा क्यापिटलले तोकेको अनलाइन लिंकमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै प्रभु बैंकको सौराहा र टाँडी शाखामार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम प्राप्त गर्नका लागि उद्योग प्रभावित बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस