Like us!
Follow us!
Connect us!
Watch us!

प्रदर्शनकारीमाथि भएको अत्यधिक बल प्रयोग : मानव अधिकार आयोग

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १८ : ०३ मा प्रकाशित

प्रदर्शनकारीमाथि भएको अत्यधिक बल प्रयोग : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले हालै भएको भ्रष्टाचार विरोधी आन्दोलनमा प्रदर्शनकारीमाथि भएको अत्यधिक बल प्रयोगप्रति गम्भीर आपत्ति जनाएको छ। आयोगले सरकारलाई तत्कालै मृतक परिवारलाई राहत उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचार सुनिश्चित गर्न र घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न निर्देशन दिएको छ।

आज सार्वजनिक गरिएको विज्ञप्तिमा आयोगले नेपाल सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र त्यसविरुद्ध जेन–जेड समूहको आह्वानमा काठमाडौंसहित विभिन्न शहरमा भएको आन्दोलनलाई आफ्नो अनुगमन टोलीले नजिकबाट हेरेको उल्लेख छ। अनुगमनका क्रममा आयोगको टोली नै हिंसात्मक आक्रमणमा परेको तथ्य पनि विज्ञप्तिमा खुलाइएको छ।

आयोगका अनुसार काठमाडौंको माइतीघरबाट सुरु भई बबरमहल हुँदै वानेश्वरसम्म पुगेका प्रदर्शनकारीलाई संसद भवन प्रवेश रोक्ने भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रयोग गरेको थियो। सो क्रममा दर्जनभन्दा बढी व्यक्तिको ज्यान गएको र धेरैजना घाइते भएको आयोगको प्रारम्भिक तथ्याङ्कमा देखिन्छ। आयोगले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

“लोकतान्त्रिक व्यवस्थामा नागरिकले शान्तिपूर्ण ढंगले विमति राख्ने अधिकार हुन्छ। सरकारले ती आवाजलाई समयमै सम्बोधन गर्नुपर्ने हो, तर अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,” विज्ञप्तिमा भनिएको छ।

आयोगले आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन उच्च सुरक्षा तयारी गर्न, प्रदर्शनकारीको आवाजलाई गम्भीरतापूर्वक सुन्न र सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित राख्न प्रदर्शनरत पक्षलाई पनि सचेत रहन अनुरोध गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको “विश्वसनीय, निष्पक्ष र सूक्ष्म अनुसन्धान” को माग गर्दै दोषीलाई कानूनी कठघरामा उभ्याउन सरकारलाई पुनः निर्देशन गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको