पछिल्ला दिनहरूमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनापछि चौधरी समूह (सीजी) का व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारीलाई सम्बोधन गर्दै दृढ सन्देश दिएका छन्। उनले कठिन क्षणमा पनि सीजी परिवारको साहस, एकता र समर्पणले कम्पनीलाई बाँचाइराखेको बताएका छन्।
चौधरीले भने, “हाम्रो भवनहरू जलाइए, पसलहरू लुटिए, तर हाम्रो सपना र मूल्यहरूलाई कसैले जलाउन वा लुट्न सक्दैन।” उनका अनुसार यो आक्रमण केवल सम्पत्तिमाथि नभई आशा, विश्वास र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धतामाथि गरिएको प्रहार हो।
उनले घटनाका क्रममा कर्मचारीहरूले जोखिम मोलेर कम्पनीको सम्पत्ति जोगाउने मात्र नभई ग्राहकप्रतिको प्रतिबद्धता निभाउन गरेको योगदानको प्रशंसा गरे। “सबै कुरा खरानी हुँदै गर्दा पनि तपाईंहरू अडिग रहनुभयो, यही सीजीको आत्मा हो,” चौधरीले भने।
नेपालकै ठूलो करदाता र रोजगारी दिने संस्थामध्ये एक रहेको समूहले विगतमा भूकम्प, बाढीदेखि महामारीसम्मका संकटमा अग्रपंक्तिमा रहेर सेवा गरेको स्मरण गराउँदै उनले सो जिम्मेवारी अझ बलियो प्रतिबद्धतासहित निरन्तरता दिने बताए।
चौधरीले जोड दिए, “हामी फेरि उठ्नेछौं। यो त्रासदीबाट नयाँ शक्ति, नयाँ प्रणाली र अझ गहिरो जिम्मेवारीको भावनासहित अघि बढ्नेछौं। इतिहासले हाम्रो भवन जलेको होइन, हामी कसरी फेरि उठ्यौं भन्ने सम्झिनेछ।”
“भवन जल्छन्, तर सपना कहिल्यै मर्दैनन्”– निर्वाण चौधरी, सीजी प्रमुख
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस