काठमाडौंमा हालैको GenZ आन्दोलनपछि देखिएको अव्यवस्था र क्षतिको व्यवस्थापनका लागि शिवम् सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई अभियान सुरु गरेको छ। कम्पनीले शुक्रबार जिल्ला प्रशासन कार्यालय (जिप्रका), काठमाडौंसँग सहकार्य गर्दै कार्यालय परिसर सफा गर्ने कार्यसँगै दैनिक प्रशासनिक कामकाज सहज होस् भन्ने उद्देश्यले आवश्यक फर्निचरसमेत सहयोग गरेको छ।
शिवम् सिमेन्टले यस्तो कदम हालको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै उठाएको हो। कम्पनीका अनुसार, तत्कालीन समस्या समाधानका लागि श्रमदान र आवश्यक सामग्री उपलब्ध गराउनु मात्र होइन, आगामी दिनमा पनि निरन्तर सरसफाई कार्यक्रम र सहयोगात्मक पहलहरूलाई निरन्तरता दिइनेछ।
कार्यक्रममार्फत कम्पनीले आफ्नो सामाजिक जिम्मेवारीलाई अझ प्रष्ट रूपमा प्रदर्शन गरेको छ। कम्पनीको धारणा छ– “समुदाय र शहरलाई पुनः व्यवस्थित र सुरक्षित बनाउन योगदान गर्नु हाम्रो कर्तव्य हो।”
कम्पनीले काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन दीर्घकालीन रूपमा श्रमदान, सरसफाई र अन्य आवश्यक सहयोगका कार्यलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता पनि जनाएको छ।
यससँगै, आन्दोलनपछि प्रभावित संरचना र वातावरण पुनःस्थापना गर्न निजी क्षेत्रको सक्रिय सहभागिता कस्तो हुन सक्छ भन्ने एउटा सकारात्मक उदाहरण शिवम् सिमेन्टले प्रस्तुत गरेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस