पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा विशेष सन्देश जारी गर्दै नेपालको संविधान र सार्वभौमसत्तामाथि आक्रमण भइरहेको उल्लेख गरेका छन्।
उनले आजको दिनलाई नेपाली जनताले ७० वर्षसम्मको संघर्षपछि संविधानसभाबाट आफैंले निर्माण गरेको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना दिलाउने दिनका रूपमा व्याख्या गरे। लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार संस्थागत गर्ने यो संविधान नेपाली जनताले आफैंले आफ्ना लागि लेखेको भविष्य रेखा भएको उनको भनाइ छ।
ओलीले संविधान निर्माणका क्रममा नाकाबन्दी र बाह्य दबाबको चुनौतीलाई परास्त गर्दै नेपालको सार्वभौमसत्ता र आत्मनिर्णयको शक्ति प्रदर्शन भएको स्मरण गरे। उनले त्यसबेला देशलाई भूपरिवेष्ठित मात्र नभई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना र पारवहन सम्झौता गरिएको तथा अर्थतन्त्र विस्तार हुँदै गएको पनि उल्लेख गरे।
तर, उनले हालैको जेन-जी आन्दोलनका क्रममा शान्तिपूर्ण भनिएको प्रदर्शनमा षड्यन्त्रकारी घुसपैठ भएको र त्यसकै कारण हिंसात्मक घटना घटेको बताए। उनका अनुसार सरकारले गोली चलाउन आदेश नदिए पनि स्वचालित हतियारबाट आक्रमण गरी युवाहरूको ज्यान लिइएको छ। उनले घटनाको छानबिन हुनुपर्ने माग गर्दै दिवंगत युवाप्रति श्रद्धाञ्जली अर्पण गरे र घाइतेको स्वास्थ्यलाभको कामना पनि गरे।
ओलीले हाल नेपालको संविधान र सार्वभौमसत्तामाथि प्रत्यक्ष आक्रमण भइरहेको दाबी गरे। उनले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको र देशको प्रतीकहरू मेटाउन खोजिएको बताए। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय, नेताकार्यकर्ताको घर तथा व्यक्तिगत सम्पत्तिमा गरिएको तोडफोडलाई उनले राष्ट्रविरोधी गतिविधि भने।
“यसका पछाडिको षड्यन्त्रबारे धेरै कुरा म अहिले भन्दिनँ, समयले आफैं बयान दिनेछ,” ओलीले लेखेका छन्। उनले नयाँ पुस्ताले यथार्थ बुझ्ने समय आउने दाबी गर्दै असन्तोषको आधारहीन विस्तारले देश बिगार्ने चेतावनी दिए।
इतिहासतर्फ संकेत गर्दै ओलीले काजी भीम मल्लको प्रसंग स्मरण गरे। सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई मृत्युदण्ड दिइएको उदाहरण उल्लेख गर्दै उनले “यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणाम पछुताउन मात्र काम लाग्छन्” भनेका छन्।
अन्त्यमा उनले सबै पुस्ताका नेपालीलाई एकजुट भएर संविधानको रक्षा गर्न र सार्वभौमसत्ताको पक्षमा उभिन आह्वान गरे। “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले मात्र देशलाई पुनः उठाउन र जोगाउन सक्छ,” ओलीले भनेका छन्।
उनले अपील गर्दै भनेका छन्, “संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस