नेपाल राष्ट्र बैंकले महिला रोजगारी र निर्यात प्रवर्द्धनलाई लक्षित गर्दै विशेष कर्जा योजना ल्याएको छ। नयाँ एकीकृत निर्देशिका अनुसार, कम्तीमा १०० महिलालाई स्थायी रोजगारी प्रदान गर्दै निर्यातमुखी उद्योग सञ्चालन गर्ने संस्थाले न्यून ब्याजदरमा कर्जा पाउनेछन्।
निर्देशन अनुसार, न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गर्ने र कुल उत्पादनको कम्तीमा २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आधारदरमा बढीमा एक प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ। यसले महिलालाई रोजगारी दिलाउने मात्र होइन, निर्यात अभिवृद्धि गर्न इच्छुक उद्योगलाई पनि राहत दिने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनका कारण उत्पन्न असामान्य अवस्थाबाट प्रत्यक्ष प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान र त्यहाँ कार्यरत कर्मचारीको तलब तथा भत्ता व्यवस्थापनका लागि पनि विशेष कर्जा सुविधा उपलब्ध हुनेछ। यस्तो कर्जा आधारदरमा बढीमा शून्य दशमलव ५० प्रतिशत प्रिमियममा लिन सकिनेछ। एक वर्ष वा व्यवसाय सञ्चालनमा आउने अवधीमध्ये कम समयसम्मका लागि कर्जा उपलब्ध हुनेछ। यसरी प्रदान गरिने कर्जाको ब्याजदरमा पहिलो छ महिनासम्म दुई प्रतिशत अनुदान सरकारले नै व्यहोर्ने छ। रोजगारदाता संस्थाले यस्तो कर्जाका लागि आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सवारीसाधन वा ढुवानीका साधन प्रतिस्थापन गर्न पनि कर्जा लिन सकिने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा ऋण मूल्य अनुपात (Loan to Value) ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ।
रसुवा र तातोपानी भन्सार नाकामा प्राकृतिक प्रकोपका कारण अवरुद्ध व्यापारलाई सहज बनाउन पनि राष्ट्र बैंकले पुनरतालिकीकरणको व्यवस्था गरेको छ। प्रभावित कर्जा ऋणीको अनुरोधमा आगामी पुस मसान्तभित्र पुनरतालिकीकरण गर्न सकिनेछ र पुनः तालिकीकरण गरिएको कर्जा पहिलेकै वर्गीकरणमा रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस