Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको लचकतापछि पनि रोकिएन सेयर बजारमा पहिरो जाने क्रम,लगानीकर्ता के भन्छन् ?

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १५ : ५८ मा प्रकाशित

राष्ट्र बैंकको लचकतापछि पनि रोकिएन सेयर बजारमा पहिरो जाने क्रम,लगानीकर्ता के भन्छन् ?

बुधबार नेपाल राष्ट्र बैंकले पुँजी बजारका लागि निकै लचिलो नीति लियो । लगानीकर्ताको माग अनुसार नै राष्ट्र बैंकले अर्थमन्त्रालयले गठन गरेको पुँजी बजार सुधार सुझाब कार्यदलले दिएको सुझाब कार्यान्वयन गर्यो । राष्ट्र बैंले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताहरुका लागि कायम भएको २५ करोडको सिमा हटायो । 

यसले पुँजी बजारले अब गति लिने विश्वास गरियो । सोही अनुसार बिहीबार सेयर बजारमा कारोबार खुल्ने वित्तीकै त्यो देखियो पनि । ३ मिनेटमा नै सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि बन्द भयो । त्यस पछि पनि बजारमा सर्किट लाग्ने आंकलन बीच बजार घट्यो । समग्रमा बिहीबार सेयर बजार २२ अंकले बढेर बन्द भयो । बिहीबार २२ अंकले बढेको बजार आइतबार पनि निरन्तरता पाउने आशामा लगानीकर्ताहरु थिए । तर अवस्था त्यस्तो हुन सकेन ।

आइतबार बजार उच्च अंकले घटेर बन्द भयो । आइतबार सेयर बजार ७८.८३ अंकले घटेर बन्द भयो । नेप्से परिसूचक २५०३.३५  विन्दुमा पुग्यो । 

अर्थमन्त्रालले पुँजी बजार सुधारका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको थियो । केन्द्रीय बैंकले आफूलाई दिएको निर्देशनलाई कार्यान्वयन गर्यो । तर, लगानीकर्ताको मनोबल भने त्यसले पनि उकास्न सकेन् । अहिले पनि लगानीकर्ताहरु नाफा सुरक्षित गर्ने तर्फ नै केन्द्रीत देखिएका छन् । पछिको विषय जे भए पनि अहिले तत्काल नाफा बुक गर्ने तर्फ लगानीकर्ता रहेको देखिन्छ ।  पुँजी बजार मनोवैज्ञानीक हुने भएकाले अहिले राजनीतिक अस्थिरताले गर्दा बजार घटेको लगानीकर्ताहरुको भनाइ छ । अर्को तर्फ धितोपत्र बोर्डले पनि काम नगरेकाले पनि बजारले गति लिन नसकेको केही लगानीकर्ताको भनाइ छ । 

सेयर विश्लेषक मुक्ति अर्यालले लगानीकर्ताको मनोबल धराशायी अवस्थामा भएको बजार घटेको बताए । राजनीतिक अस्थिरतालाई बजारले मन नपाउने भएको अहिले नेप्सेमा त्यसको असर देखिएको उनको भनाइ छ । केन्द्रीय बैंकले सकारात्मक सुधारका काम गरेको भए पनि बजारका नकारात्मक हल्ला तथा जेनजी आन्दोलन र व्यवसायी माथिको आन्दोलने पनि यस्तो भएको अर्यालको भनाइ छ । 

इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले राजनीति अस्थिरता र आसोज मसान्तको ब्याजको दबाबले बजार घटेको बताएका छन् । अहिले बजारका लागि सबै सूचक सकारात्मक भए पनि राजनीतिक रुपमा भइरहेको अस्थिरताले बजारमा नकारात्मक असर गरेको रौनियारको भनाइ छ । 'बजारका लागि सबै कुरा सकारात्मक छन्,तरलता प्रसस्त छ,सुधारको  काम पनि राष्ट्र बैंकले गरिराखेकै छ । अर्थमन्त्रालय पनि बजारप्रति सकारात्मक छ । तर आर्थीक मसान्तको ब्याज र राजनीतिक अस्थिताका कारण लगानीकर्ताको मनोबल उठ्न नसकेकाले बजार घटेको देखिन्छ',उनले  भने । 

अहिलेको अस्थिर अवस्थामा लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लागेकाले पनि बजार घटेको लगानीकर्ता नवराज दाहालको भनाइ छ । अहिले राजनीतिक अस्थिरताले गर्दा बजारमा असर गरेको उनले बताए । ‘अहिले राजनीतिक अस्थिरता छ । यसमा लगानीकर्ताहरुले नाफा सुरक्षित गरौँ भनौ भन्ने मनस्थितिले गर्दा बजार घटेको हो,’ उनले भने । अहिले लगानीकर्ताको आत्मविश्वस बढ्न नसकेको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको