एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा आउँदो कार्तिक १२ गते, बुधबार (अक्टोबर २९, २०२५) का दिन गर्न लागेको छ। बैंकले यसअघि नै बुकक्लोज गरी तयारी पूरा गरेको जनाएको छ।
साधारण सभा भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सञ्चालक समितिको निर्णयअनुसार, यस सभामा ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) पारित गर्ने प्रस्ताव मुख्य एजेन्डा रहनेछ।
सभामा अध्यक्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गरिनेछ।
त्यस्तै, बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।
साधारण सभा प्रयोजनका लागि बैंकले यसअघि नै आश्विन २४ गते (सप्टेम्बर १०, २०२५) बुकक्लोज गरेको थियो।
त्यसअनुसार, आश्विन २३ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी पूरा गरेका सेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।
बैंकले सभामा सहभागी हुने सेयरधनीहरूलाई नागरिकता प्रमाणपत्र वा मान्य परिचयपत्र, साथै DEMAT खाता विवरण र स्टेटमेन्ट अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ।
नगद लाभांश वितरणका लागि सेयरधनीहरूले आफ्नो बैंक खाता विवरण DEMAT खातामा अद्यावधिक गर्न पनि अनुरोध गरिएको छ।
सभाको हाजिरी पुस्तिका बिहान १० बजे खोलिने र १२ बजे बन्द हुने जानकारी बैंकले दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस