Like us!
Follow us!
Connect us!
Watch us!

डा. तोसिमा कार्कीको आग्रह – “पार्टीभित्र सुधारको प्रयासलाई षड्यन्त्र नबनाउनुहोस्”

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, १३ : २२ मा प्रकाशित

डा. तोसिमा कार्कीको आग्रह – “पार्टीभित्र सुधारको प्रयासलाई षड्यन्त्र नबनाउनुहोस्”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र भइरहेको आन्तरिक विवादबीच एक सार्वजनिक स्टाटसमार्फत आफूविरुद्ध लगाइएका आरोपहरू मिथ्या भएको बताउँदै नेतृवर्ग र कार्यकर्ताहरूसँग संयमित रहन आग्रह गरेकी छिन्।

फेसबुकमार्फत शनिबार राति सार्वजनिक गरिएको स्टाटसमा उनले लेखेकी छिन्, “कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनुहोला। यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु। गर्नेछु। तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर मेरो धैर्यलाई चुनौती नगरिदिनुहोला।”

उनले रास्वपालाई समयसापेक्ष मध्यममार्गी, उदार र वैकल्पिक शक्तिहरू समेट्न सक्ने मुख्य राजनीतिक शक्ति बनाउन आफ्नो प्रयासलाई गलत बुझिएको गुनासोसमेत गरेकी छिन्।

डा. कार्कीका अनुसार, पार्टीलाई सबल बनाउनका लागि सांगठनिक र वैचारिक पुनःगठन, पुनरावलोकन अनिवार्य भएको बताउँदै उनले लेखेकी छन् – “पार्टीलाई थप सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य गर्नु सम्पूर्ण पार्टीलाई कमजोर बनाउने काम हो।”

उनले आफ्ना तीन स्पष्ट अनुरोधहरू पनि सार्वजनिक गरेकी छन् —
१. विस्तारित बैठकमा संगठनका साथीहरूको महत्वपूणर् र सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने।
२. बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन, ती प्रतिवेदनहरू स्वीकार/अस्वीकार वा संशोधनसहित पारित गर्ने अधिकार पाउनुपर्ने।
३. जेन–जी आन्दोलनपछि रास्वपाले यथास्थितिमा रहँदा वैकल्पिक शक्तिहरूलाई समेट्न नसक्ने भएकाले उदार र समावेशी नीतिगत दिशा लिनुपर्ने।

उनले पार्टीको केन्द्रीय संरचना, पदाधिकारी र समिति नेतृत्वमा पुनरावलोकन र पुनर्गठनको माग गर्दै लेखेकी छन्, “अब यही कुरामा पटक–पटक स्पष्टिकरण दिन बाध्य नपार्नुहोस्, बरु आउनुहोस्—एक कदम अघि बढेर रिफर्मेशनका मोडालिटीमा बसौं।”

राजनीतिक विश्लेषकहरूले डा. कार्कीको यो स्टाटसलाई रास्वपाभित्र नेतृत्वकेन्द्रित निर्णय प्रक्रियाप्रति असन्तुष्टि प्रकट गर्ने संकेतका रूपमा व्याख्या गरेका छन्। पार्टीका सभापति रवि लामिछाने निकट समूहले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको