चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (असोज मसान्तसम्म) निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११.१४ प्रतिशतले वृद्धि भएको छ।
नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले तीन महिनामा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । जुन गत वर्षको तुलनामा ४.३२ प्रतिशतले बढी हो।त्यसैगरी, शिखर इन्स्योरेन्सको व्यवसाय २३.६२ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ४.४७ प्रतिशतले बढेर १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ पुगेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा १ अर्ब १९ करोड ६६ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ।
गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी वृद्धि एनएलजी इन्स्योरेन्सको रहेको छ। कम्पनीको बीमा व्यवसाय ३६.३५ प्रतिशतले बढ्दै १ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ३०.२४ प्रतिशतले, युनाइटेड अजोज इन्स्योरेन्सको २९.८२ प्रतिशतले, सानिमा जिआइसी इन्स्योरेन्सको १५.७७ प्रतिशतले, नेपाल इन्स्योरेन्सको १४ प्रतिशतले, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ९.९६ प्रतिशतले, प्रभु इन्स्योरेन्सको ५.९५ प्रतिशतले र नेको इन्स्योरेन्सको ३.४३ प्रतिशतले वृद्धि भएको छ।
तर, सरकारी स्वामित्वका राष्ट्रिय बीमा कम्पनी र द ओरियण्टल इन्स्योरेन्सको व्यवसाय भने यस अवधिमा घटेको प्राधिकरणले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस