Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलका २१ लाख बढी हकप्रद सेयर आजदेखि लिलामीमा

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, ०७ : ४१ मा प्रकाशित

सिटी होटलका २१ लाख बढी हकप्रद सेयर आजदेखि लिलामीमा

सिटी होटल लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले हकप्रदमा बिक्री हुन नसकेका २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो।

यी सेयरमध्ये संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर रहेका छन्। यसमध्ये संस्थापक र कर्मचारी समूहका सेयर लकइन अवधिमा रहेका छन्, जसको अवधि आगामी २०८३ जेठ ४ गतेसम्म कायम रहनेछ।

लिलामी प्रक्रियाको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ, र लगानीकर्ताले यसभन्दा बढी मूल्य कबुल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा बढी मूल्य कबुल गर्नेले प्राथमिकता अनुसार सेयर प्राप्त गर्नेछन्। बाँकी सेयर दोश्रो बढी मूल्य कबुल गर्नेहरूलाई प्रदान गरिनेछ, यसरी क्रमशः बाँडफाँड प्रक्रिया पूरा हुनेछ।

लिलामीमा सहभागी हुनका लागि कम्तीमा १०० कित्ताको आवेदन अनिवार्य गरिएको छ। अधिकतम आवेदन भने सम्पूर्ण उपलब्ध सेयरका लागि दिन सकिनेछ। आवेदन दिने म्याद कात्तिक ३० गतेसम्म तोकिएको छ।

काठमाडौँ जिल्लाभित्रका इच्छुक लगानीकर्ताले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा गएर शिलबन्दी फारम लिएर आवेदन दिन सक्नेछन्। त्यस्तै, काठमाडौँ बाहिरका लगानीकर्ताले प्रभु बैंकका बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा, सुर्खेत, बुटवल र धनगढी शाखामार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

सिटी होटल लिमिटेडले यसअघि कायम चुक्ता पुँजीको ८० प्रतिशतको दरले हकप्रद सेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता थियो। नेपाल धितोपत्र बोर्डले साउन ४ गते कम्पनीलाई उक्त हकप्रद निष्कासनको अनुमति दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको