नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कृषिमा ठूलो मात्रामा लगानी भए पनि अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले उल्लेख्य लगानी हुँदाहुँदै पनि कृषि क्षेत्रबाट ठोस उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।
गभर्नर पौडेलका अनुसार हाल कृषिमा करिब ६ खर्ब ८८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। बैंक तथा वित्तीय संस्थाबाट पर्याप्त कर्जा प्रवाह भए पनि उत्पादन, उत्पादकत्व तथा किसानको आम्दानीमा उल्लेखनीय सुधार नदेखिएको उनले बताए। नेपाल कृषि अनुसन्धान परिषद्बाट सिफारिस भएका किसानलाई धितोबिनै कर्जा उपलब्ध गराउँदै आएको जानकारी दिँदै उनले कृषिमा निरन्तर कर्जा प्रवाह गरिरहेको बताए ।
हालसम्म ३१ हजार ४२ जना किसानले सहुलियतपूर्ण कर्जा पाएका छन्। साथै, किसानलाई कर्जा सहज बनाउन १० लाख रुपैयाँसम्मको ऋणमा धितो आवश्यक नपर्ने नीति लागू गरिएको पनि गभर्नर पौडेलको भनाई छ ।
उनका अनुसार किसानले उत्पादन गरे पनि बजार, मूल्य निर्धारण, ढुवानी तथा जोखिम व्यवस्थापनका समस्याका कारण आम्दानी बढ्न सकेको छैन। कृषिप्रति किसानको आकर्षण घट्दै गएको र ३५ जिल्लामा जनसंख्या घटेको उल्लेख गर्दै उनले लगानी हुँदाहुँदै पनि उपलब्धि नदेखिनु चिन्ताजनक अवस्था भएको बताए। किसानको फाइदा बढाउने, जोखिम न्यूनीकरण गर्ने र बीमा प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने उनले जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस