नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा बढी रहेको छ । आज सुन रेकर्ड मूल्यबाट घटेको भएपनि पछिल्ला दुई दिनमा मात्रै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । यो साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार फेरि १ हजार ९०० रुपैयाँले बढेर तोलाकै २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको हो ।
पछिल्लो समय चाँदीको मूल्यमा पनि लगातार रुपमा वृद्धि भइरहेको छ । सोमबार नेपाली बजारमा चाँदीको मूल्य ३ हजार ८७० रुपैयाँ पुगेको छ । जुन नेपाली बजारमा हालसम्मकै सबै भन्दा धेरै मूल्य हो । मंसिर महिनाको आज अन्तिम दिन हो । विशेष गरि मंसिर महिनामा लगन हुने भएकाले बजारमा सुनको माग पनि बढ्ने र मूल्य पनि बढ्ने गर्छ । मंसिर महिनाको अन्तिमका दुई दिनमा आएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । मंसिर महिनाभरमा भने सुनको मूल्यमा १७ हजार ४०० रुपैयाँको वृद्धि भएको छ । मंसिर १ गते नेपाली बजारमा सुनको मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ रहेको थियो । त्यस्तै मंसिर महिनाभरमा चाँदीको मूल्यमा पनि ७१५ रुपैयाँको बढोत्तरी भएको छ । मंसिर १ गते चाँदीको मूल्य ३ हजार १५५ रुपैयाँ रहेको थियो भने मंसिरको अन्तिम दिन आज तोलाको ३ हजार ८७० रुपैयाँ पुगेको हो ।
पाँच महिनामा सुनको मूल्यमा ६८ हजार बढीको वृद्धि
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सुनको मूल्य ६८ हजार भन्दा बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार नेपाली बजारमा चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गतेको तुलनामा मंसिर २९ गते सुनको मूल्य ६८ हजार ४०० रुपैयाँले बढेको हो । साउनको १ गते नेपाली बजारमा सुन किन्न जाने ग्राहकले १ लाख ९२ हजार ३०० रुपैयाँ तिर्नु पर्ने हुन्थ्यो ।
त्यस्तै यो अवधिमा चाँदीको मूल्य पनि तोलामा १ हजार ६०५ रुपैयाँले बृद्धि भएको छ । साउनको १ गते नेपाली बजारमा चाँदीको मूल्य तोलाको २ हजार २६५ रुपैयाँ मात्रै थियो । मंसिर महिनाको अन्तिम दिन बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ ।
माग न्यून, व्यवसायी पलायन हुने अवस्था
सुनको मूल्य लगातार रुपमा बढ्दा माग कम भएको र व्यवसायीहरु पलायन हुने अवस्था देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियर रत्न शाक्यले बताए । नेपालमा सुनको मूल्य बढ्नुमा आन्तकिर भन्दा बाह्य कारणले प्रमुख हुने भएकाले नेपाली बजारमा सुनको मूल्य बढेको उनको भनाइ छ । अमेरिकी केन्द्रीय बैंकले केही दिन पहिले बैंकको ब्याजदर घटाएको र नेपालको भारतसँग स्थिर विनिमयदर भएका कारणले सुनको मूल्य बढेको शाक्यले बताए ।
अहिले नेपालको मात्रै भन्दा पनि समग्र विश्वको अर्थतन्त्र नै संकुचनको अवस्थामा रहेकाले पनि सुनमा लगानीकर्ताको आकर्षण बढीरहेको उनको भनाइ छ । ‘पुसको मध्यतिर जहिले पनि सुनको मूल्य बढ्ने गरेको छ । विगतमा पनि यो समयमा सुनको मूल्य बढ्ने गरेको थियो । अहिले पनि सोही अनुसार बढ्ने अवस्था नै देखिन्छ,’ उनले भने ।
मूल्य बढेसँगै अहिले सिजनमा नै सुनको माग न्यून रहेको उनले जानकारी दिए । पहिले पहिले सिजनमा दैनिश ५० किलोसम्मको माग हुने गरेको भए पनि यो पटकको मंसिर महिनामा सुनको माग मुस्किलले १५ किलो पनि नपुगेको उनको भनाइ छ । यो पटक सुनको माग मंसिर महिना भन्दा तिहारको सयममा बढी रहेको उनले बताए । ‘पहिले पहिले सिजनमा सुनको माग दैनिक ५० किलोको हाराहारीमा हुने गरेको थियो । अहिले सनुको मूल्य बढेसँगै माग १५ किलो पनि हुन सकेन्,’ उनले भने । अर्को तर्फ सरकारले लगाएको विलाशिता करका कारणले नेपालमा सुनको मूल्य थप महंगो भएको छ । अहिले सुनको मूल्य तोलामा २ लाख ६० हजार ७०० रुपैयाँको दुई प्रतिशत विलाशिता कर लगाउँदा त्यो २ लाख ६५ हजार ९०० रुपैयाँ तिर्नु परिरहेको उनको भनाइ छ ।
अहिलेकै गतिमा सुनको मूल्य बढ्यो भने छिट्टै नै सुनको मूल्य ३ लाख नजिक पुग्ने उनको भनाइ छ । समय तोकेर भन्न नसकिए पनि छिट्टै नै सनुको मूल्य २ लाख ८० देखि ८५ हजार रुपैयाँसम्म पुग्ने उनको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस