ग्रीन भेन्चर्स लिमिटेडले ठूला जलविद्युत् आयोजनामा लगानी विस्तार गर्ने उद्देश्यसहित हकप्रद सेयर निष्कासनको तयारी गरेको छ। कम्पनीले पुस ३० गते आह्वान गरेको वार्षिक साधारणसभामा हाल कायम चुक्ता पुँजीको आधारमा १:१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ।
कम्पनीले हालै कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि. मा रणनीतिक लगानी गर्दै बहुमत स्वामित्व प्राप्त गरेको छ। ग्रीन भेन्चर्सले उक्त कम्पनीको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्न भदौ १० गते सेयर खरिद सम्झौता सम्पन्न गरेको थियो। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा. लि. ले म्याग्दी र मुस्ताङ जिल्लामा पर्ने कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त (Peaking Run of the River – PROR) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
सोही आयोजनामा आवश्यक पूँजी व्यवस्थापन गर्न ग्रीन भेन्चर्सले हकप्रद सेयर निष्कासनको प्रस्ताव अघि सारेको हो। आयोजनाको अनुमानित कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
वार्षिक साधारणसभाको प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १५ गतेसम्म कायम रहेका सेयरधनी मात्र साधारणसभामा सहभागी हुन पाउनेछन्। कम्पनीले चालु आर्थिक वर्षका लागि भने कुनै पनि लाभांश प्रस्ताव गरेको छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस