सिटिजन्स क्यापिटलले सञ्चालनमा ल्याएको नयाँ सामूहिक लगानी कोष योजनाप्रति अपेक्षाकृत कम चासो देखिएपछि इकाईमा आवेदन दिने समयावधि लम्ब्याइएको छ। क्यापिटलका अनुसार अब यस योजनामा पुस १८ गतेसम्म आवेदन दिन सकिनेछ। तर, सो अवधिभन्दा अघि नै माग पर्याप्त भएमा सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया समयअगावै रोक्न सकिने पनि स्पष्ट पारिएको छ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत पुस ४ गतेदेखि निष्काशन सुरु गरिएको ‘सिटिजन्स सन्तुलित योजना’ १० वर्ष अवधिको बन्दमुखी योजना हो। एक अर्ब रुपैयाँको आकार रहेको यस योजनामा प्रति इकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बजारमा ल्याइएको छ। तीमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।
योजनामा लगानी गर्न न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। नेपाल धितोपत्र बोर्डले मङ्सिर ९ गते यस योजनालाई निष्काशन अनुमति दिएको थियो।
तर, निष्काशन सुरु भएको केही समय बितिसक्दा पनि लगानीकर्ताको सहभागिता उत्साहजनक देखिएको छैन। क्यापिटलबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार २०२५ डिसेम्बर २२ तारिख साँझ ५ बजेसम्म कुल ३७ हजार ९ सय ६१ जनाले मात्र आवेदन दिएका छन्। सो अवधिसम्म माग गरिएको इकाई संख्या ४ करोड ८२ लाख ३७ हजार ६ सय ६० पुगेको छ, जसको कुल रकम ४८ करोड २३ लाख ७६ हजार ६ सय रुपैयाँ बराबर हुन्छ।
यो तथ्यांकले सेयर बजारमा सक्रियता देखिए पनि म्युचुअल फण्डप्रति आम लगानीकर्ताको आकर्षण अझै कमजोर रहेको संकेत गर्छ। बजार जानकारहरूका अनुसार अल्पकालीन प्रतिफलको खोजी, प्रत्यक्ष सेयर कारोबारप्रतिको झुकाव र म्युचुअल फण्डबारे सीमित बुझाइका कारण यस्तो अवस्था देखिएको हुन सक्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस