निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको खर्च सीमा तोकेको छ। आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्।
निर्धारित खर्च सीमाअनुसार मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ, सवारी साधनमा ७० हजार रुपैयाँ र सवारी इन्धनमा १० हजार रुपैयाँ खर्च गर्न पाइनेछ। त्यस्तै, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ, ढुवानीमा १० हजार रुपैयाँ र गोष्ठी तथा अन्तरक्रियाका लागि १ लाख रुपैयाँ खर्च गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी अन्य प्रचारप्रसार, छापा तथा विद्युतीय माध्यममा १४ हजार ५०० रुपैयाँ, कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालनमा ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको छ।
आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुने भएको छ। आयोगले उम्मेद्वारलाई खर्च व्यवस्थापनका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने र सोही खातामार्फत मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, खर्च गर्ने जिम्मेवारी तोकिएको पदाधिकारीमार्फत मात्र खर्च गर्नुपर्ने जनाइएको छ।
निर्वाचन सम्पन्न भएपछि उम्मेद्वारले खर्च विवरण सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस