चुनाव अवधिभर मादक पदार्थको बिक्री,वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार ‘मतदानको मितिभन्दा सात दिनअघि देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवन निषेध’ गरिनेछ। यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने तय भएको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको मूल्यांकन, आवश्यक मार्गदर्शन तथा सिफारिसका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न उक्त निर्णय कार्यान्वयनमा ल्याएको निर्वाचन आयोगले जनाएको छ। समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध हुनेछ। यस अवधिमा निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ।
त्यस्तै, जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति र संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ अनुसार निषेधित गतिविधि हुन नदिन र उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम तुरुन्त कारबाही गरी आयोगलाई जानकारी गराउने व्यवस्था गरिएको छ। मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, साथै दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन समावेश छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस