अरुण काबेली जलविद्युत् आयोजनाले निर्माण गरिरहेको २५ मेगावाट काबेली बी -१ ।
अर्थ संसार, काठमाडौा– मुलुकको कुल जलविद्युत् क्षमता मध्ये २८ हजार ८२३ मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् ।
जल तथा ऊर्जा आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकमा नेपालको जलविद्युत्को क्षमता ८२ हजार ८०० मेगावाट रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा कुल क्षमताको ४० प्रतिशत मिर्नाणको विभिन्न चरणमा रहेको हो ।
आयोगले नदी बेसिनका आधारमा जलविद्युत्को क्षमता मापन गरेको हो । तर पूर्ण प्रतिवेदन आउन भने अझै केही समय लाग्ने बताइएको छ ।
ऊर्जा मन्त्रालय मातहतकै विद्युत् विकास विभागले १३ हजार ९५० मेगावाट क्षमताको विभिन्न जलविद्युत् आयोजनाको सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागले चार हजार ४३० मेगावाट क्षमताका आयोजनालाई उत्पादन अनुमति दिएको छ ।
उत्पादन अनुमति दिइएका अधिकाशं आयोजनामा निजी क्षेत्रको लगानी रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईकाअनुसार अझै पाँच हजार मेगावाट क्षमताका आयोजना उत्पादन अनुमति लिने तयारीमा छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता(पिपिए)का लागि समेत प्रतिक्षामा रहेका ती आयोजना सहज वातावरण बन्ने वित्तिकै निर्माणमा जाने तयारीमा रहेका छन् ।
यस्तै सरकारको बास्केट फण्डमा तीन हजार २४० मेगावाट क्षमताका आयोजना रहेका छन् । ती आयोजनालाई सरकारले प्रतिस्पर्धाका आधारमा निजी ऊर्जा उद्यमीलाई निर्माणका लागि दिने गरेको छ ।
यस्तै सरकारले अध्ययन गरेका आयोजनाको क्षमता एक हजार २९४ मेगावाट रहेको छ । भने सरकारले अध्ययन जारी राखेको आयोजनाको क्षमता पाँच हजार ९०९ मेगावाट रहेको छ । यी सबै आयोजनाको क्षमता २८ हजार ८२३ मेगावाट रहेको छ ।
सरकारले आगामी दश वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा अध्ययन हुन बाँकी रहेका आयोजनालाई तत्काल अध्ययनमा लगेर निर्माणका लागि तयारी गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।
नदी बेसिनका आधारमा अध्ययन
यस्तै सरकारले विभिन्न नौ नदी बेसिनका आधारमा पनि जलविद्युत् आयोजनाको क्षमता मापन गरेको छ । कमला, कन्काई, कोशी, वाग्मती, गण्डकी, रापती, बबई, कर्णाली र महाकाली नदी बेसिनलाई जलविद्युत् आयोजनाको क्षमताको उपलब्धताको हिसाबले अध्ययन गरिएको हो ।
ऊर्जा मन्त्रालयकाअनुसार महाकाली नदी बेसिनमा ६ हजार मेगावाट, कर्णाली, बबई र रापती नदी बेसिनमा २५ हजार मेगावाट क्षमता रहेको छ । यस्तै वाग्मती र गण्डकी नदी बेसिनमा २५ हजार मेगावाट तथा कोशी, कन्काई र कमला नदी बेसिनमा २५ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना रहेको छ ।
प्रदेश नं ७ जलविद्युत्मा धनी
संविधानप्रदत्त संघीय नेपालका सात प्रदेश मध्ये जलविद्युत्मा सबैभन्दा बढी क्षमता १८ हजार १४९ मेगावाट रहेको छ । देशको कुल जलविद्युत् क्षमता मध्ये २५ प्रतिशत क्षमता प्रदेश नं ७ मा रहेको छ ।
यस्तै सबैभन्दा कमजोर र क्षमताका हिसाबले प्रदेश नं २ रहेको छ । सो प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता २०० मेगावाट मात्रै रहेको छ ।
यस्तै जलविद्युत् क्षमताका हिसाबले प्रदेश नं १ को क्षमता १२ हजार ९५३ मेगावाट रहेको छ । यस्तै प्रदेश नं ३ को क्षमता १२ हजार ६३१ मेगावाट रहेको छ ।
इपानले गरेको अध्ययनअनुसार प्रदेश नं ४ मा १० हजार २२८ मेगावाट, प्रदेश नं ५ मा १४ हजार ३० मेगावाट र प्रदेश नं ६ मा ११ हजार ८०३ मेगावाट रहेको छ ।
पिपिए भएका आयोजनाको हकमा ४ नम्बर प्रदेश अगाडि
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्रदेश नं १ मा हालसम्म दुई हजार १३२ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । विद्युत् खरिद सम्झौता भएका आयोजनाको हकमा प्रदेश नं ४ अग्रस्थानमा रहेको छ । सो प्रदेशको तीन हजार ३७३ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ ।
तीन नं प्रदेशभित्र रहेका दुई हजार ८६१ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । प्रदेश नं २ मा भने १८ मेगावाट क्षमताको एउटा मात्रै आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ ।
रदेश नं ५ मा ३६ मेगावाट, प्रदेश नं ६ मा ६४२ मेगावाट र प्रदेश नं ७ मा २४८ मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ ।रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस